टीकापुर, कार्तिक ११
कैलालीको टीकापुर नगरपालिकामा विगत एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत (हाकिम) विहीन रहेको छ ।
असोज ९ गते पालिकामा हाजिर लगाएर गएका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरीले टीकापुरमा आउन नमानेपछि नगरपालिका एक महिनादेखि हाकिमविहीन भएको हो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाको आर्थिक तथा प्रशासनिक कामसहित विकास निर्माणका काममा समेत प्रभाव परेको छ ।
आर्थिक वर्षको शुरुवातबाट पालिकाबाट सरुवा खोजिरहेका चौधरी भदौ महिनाको तबल खुवाउनका लागि असोज पहिलो सातामात्रै हाजिर भएका थिए । पालिका श्रोतका अनुसार पालिकाको कामकारवाहीका विषयमा नगर प्रमुख रामलाल डगौरासँग चर्को विवाद भएपछि उनी नफर्कने भन्दै सरुवाको खोजीमा थिए । हालसम्म चौधरीको सरुवा भने भएको छैन ।
पालिकाको एक शाखाका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत नहुँदा पालिकाले गर्नुपर्ने विकास निर्माणका कामसहित खरिदसम्बन्धी सम्पूर्ण कार्य ठप्प भएको बताए । ‘पालिकाका विभिन्न वडामा सञ्चालित आधारभूत स्वास्थ्य केन्द्रमा पठाउनु पर्ने औषधीसमेत खरिद भएको छैन’ ती शाखा प्रमुखले भने ‘राजश्व संकलन सम्बन्धी ठेक्का, सडक तथा भौतिक पूर्वाधार निर्माण सम्बन्धी ठेक्कापट्टाका काम समेत प्रभावित भएका छन्, यसले समयमै विकास निर्माणका कामहरु पूर्ण हुने देखिँदैन ।’
हाकिम नहुँदा पालिकाले नदीजन्य पदार्थको रोयल्टी संकलनका लागि समेत ठेक्का प्रक्रिया अगाडि बढाउन सकेको छैन । ‘कर्मचारीले असोज महिनाको तबल समेत खान पाएका छैनन्’ अर्का कर्मचारीले भने ‘हाकिम नहुँदा जेन्जी आन्दोलनका बेला जलाइएका सामानहरु समेत खरिद हुन सकेको छैन भने सेवाग्राही समेत फिर्ता गइरहेका छन् ।’
टीकापुर नगरपालिका वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्लाले हाकिम टिक्न नसक्दा वडाका कामहरु समेत प्रभावित हुने गरेको बताए । ‘पछिल्लो कार्यकालका तीन वर्षमा आठ हाकिम परिवर्तन भएका छन्’ अध्यक्ष ठकुल्लाले भने ‘पालिकाले यसबारे समेत गम्भीर समिक्षा गर्नुपर्ने बेला भएको छ ।’
२०७९ को स्थानीय निर्वाचनपछि पालिकामा सरुवा भइआएका रविन्द्रप्रसाद चौधरी आठौं हाकिम हुन् । उनीभन्दा पहिले दमनसिंह चौधरी, नारायणबहादुर विष्ट, दमनसिंह चौधरी, मंगलबहादुर शाही, दमनसिंह चौधरी, लक्ष्मणबहादुर कठायत र मंगलबहादुर शाही प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।
शाहीबाहेक अन्य प्रमुख प्रशासकीय अधिकृत एक वर्ष समेत पालिकामा बसेनन् भने प्रमुख प्रशासकीय अधिृकतका रुपमा कोही नआउँदा शिक्षा उपसचिव रहेका दमनसिंह चौधरीले निमित्त भएर चलाएका थिए ।
नगर प्रमुख रामलाल डगौरा थारुले प्रमुख प्रशासकीय अधिकृतका लागि संघीय मामिला मन्त्रालयमा पटक पटक धाउँदा समेत कोही आउन नमानेको बताइन्छ । नगर प्रमुख थारुले एक दुई दिनमै पालिकामा प्रमुख प्रशासकीय अधिकृत आउने तयारी भइरहेको बताए ।
‘प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र सरको सरुवा अवधि नपुगेकाले उहाँ नै एक दुई दिनमा कार्यालयमा हाजिर हुने कुरा भएको छ’ नगर प्रमुख थारुले भने ‘मन्त्रालयले नै रवीन्द्र सरलाई समय नपुगी सरुवा गर्न नसकिने बताए पछि उहाँ आज मात्रै सम्पर्कमा आउनु भएको हो, एक दुई दिनमै अफिस आउनु हुन्छ ।’
नगर प्रमुख थारुले प्रमुख प्रकाशकीय अधिकृत नहुँदा पालिकाको सेवा प्रवाहमा असर परेको बताए ।




