Hamro Patra
रानी, जमरा कुलरिया सिँचाइ आयोजनाः कृषि क्रान्तिको आयाम

टीकापुर, साउन १४
पूर्वी कैलालीमा कृषि क्रान्ति फैलाउने अपेक्षासहित सुरु गरिएको बहुप्रतिक्षित राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाका दोस्रो चरणका काम सम्पन्न भएका छन्‌ ।

विश्व बैंक र नेपाल सरकारको २७ अर्ब लागतमा सन् २०१० मा आयोजना सुरु भएको हो । आयोजनाको दोस्रो चरणका काम सकिएसँगै १४ हजार बढी हेक्टरमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । ४.७१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

पहिलो चरणमा कर्णाली चिसापानीमा मुख्य इन्टेक बनाइयो । मूल नहर र परम्परागत रूपमा सञ्चालन हुँदै आएका रानीजमरा, कुलरिया सिँचाइ कुलोको विकास र विस्तार गरियो । दोस्रो चरणमा लम्कीचुहा नगरपालिकाका तीनवटा वडामा सिँचाइ पुर्‍याउन लम्की शाखा नहर निर्माण गरिएको हो । जसको प्रधानमन्त्री केपी ओलीले मंगलबार उद्घाटन गरेका हुन्‌ । 

आयोजनाले नहरको पानी प्रयोग गरी जानकी गाउँपालिका–९ कटासेमा ४.७१ मेगावाटको विद्युत् उत्पादन गरेको छ । आयोजनाले कृषि क्षेत्रको विकासका लागि कृषि कार्यक्रम कार्यान्वयन एकाइसमेत सञ्चालन गरिरहेको छ ।

एकाइबाट आधुनिक कृषि प्रणालीको विकास, व्यावसायिक तरकारी तथा फलफूल खेती, आयआर्जन, कृषि सहकारीमार्फत बिउविजन उत्पादन र प्रबद्र्धनमा सहयोग पुर्‍याउँदै आएको छ । आयोजनाले कृषकहरूलाई मल, बिउमा अनुदान, आधुनिक कृषि औजारमा अनुदान र प्राविधिक सहयोग गरिरहेको छ । 

१४ हजार हेक्टर बढीमा बाह्रैमास सिँचाइ 

आयोजनाले रानी, जमरा र कुलरिया कुलाबाट जानकी गाउँपालिका र टीकापुर नगरपालिकाका १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ । लम्कीचुहा नगरपालिकाका–४, ६ र ८ को ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लम्की शाखा नहर निर्माण सम्पन्न भएको हो । नहरमार्फत कर्णाली चिसापानीको पानी झन्डै २५ किलोमिटर पश्चिम रहेको पथरैया नदीमा खसालिएको छ । 

आयोजनाले तेस्रो चरणमा लम्कीचुहा नगरपालिकाको पथरैया नदीदेखि पश्चिम कान्द्रा नदीसम्म थप १८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउन नहर निर्माण गर्ने तयारी थालेको छ । 

आयोजनाका सूचना अधिकारी इञ्जिनियर नवीन पौड्यालका अनुसार हालसम्म आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । ‘सिंगो आयोजनाको काम ७५ प्रतिशत मात्रै सकिए पनि १४ हजार ३ सय हेक्टरमा सिँचाइ गर्न तथा जलविद्युत् र प्रसारण लाइन निर्माणको काम सकिएपछि प्रधानमन्त्रीज्यूबाट उद्घाटन गरिएको हो’, पौड्यालले भने, ‘बाँकी २५ प्रतिशत काम ६ वर्षभित्र सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।’ आर्थिक वर्ष २०६६/६७ सालमा आयोजनाको निर्माण सुरु भएको थियो । 

३८ हजार हेक्टरमा सिँचाइको लक्ष्य

आयोजना सूचना अधिकारी पौड्यालका अनुसार आयोजनाको मूल उद्देश्य रानी, जमरा र कुलरिया सिँचाइ प्रणालीको १४ हजार ३ सय हेक्टर, नयाँ शाखा नहर विस्तारमा ६ हजार हेक्टर र सिञ्चित क्षेत्र विस्तारअन्तर्गत पथरैयादेखि कान्द्रा नदीसम्मको थप १८ हजार हेक्टर गरी ३८ हजार ३ सय हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने हो ।

सरकारबाट स्वीकृत गुरुयोजनाअनुसार २० हजार ३ सय हेक्टर क्षेत्रफलको निर्माण कार्य आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, उक्त काम सम्पन्न हुन अझै ६ वर्ष लाग्ने छ । 

नेपाल सरकार तथा विश्व बैंकको संयुक्त लगानीमा आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०८०/८१ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत २७ अर्ब ७० करोड २५ लाखको खरिद गुरुयोजना ०७४ चैत १५ गते सरकारले स्वीकृत गरेको थियो । नहर सञ्चालनसँगै कैलालीको पूर्वी क्षेत्रका टीकापुर नगरपालिका, जानकी गाउँपालिका र लम्की चुहा नगरपालिकाका–४, ६ र ८ मा बाह्रै महिना सिँचाइ सुविधा पुग्नेछ ।

सिँचाइ सुविधा नभएर जमिन बाँझो राख्नुपर्ने बाध्यताबाट यहाँका किसानले राहत पाउनेछन्‌ । ‘कर्णाली नदीको पानी वर्षैभरि किसानका खेतमा पुग्नेगरी आयोजना निर्माण भइरहेको छ, यसले सुदूरपश्चिमको कृषि र ऊर्जामा क्रान्ति ल्याउने छ’ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले भने, ‘यो आयोजनाको पूर्ण सञ्चालन भएका खण्डमा कैलालीको पूर्वी क्षेत्रमा समृद्धिको ढोका खुल्नेछ ।’

परम्परागत कुलाका रूपमा रहेका रानीजमरा, कुलरिया कुलाबाट नियमित सिँचाइ सुविधा पुग्नाले कृषि क्षेत्रमा देशलाई योगदान पुग्ने रानीजमरा, कुलरिया मूल कुला जल उपभोक्ता समितिका अध्यक्ष कुमारराज शाही बताउँछन्‌ । 

‘नियमित सिँचाइ पुगेपछि वर्षैभरि खेती गर्न सकियो, मौसमी, बेमौसमी सबै खाले खेती गर्न किसानलाई सुविधा पुगेको छ’ अध्यक्ष शाहीले भने, ‘आयोजना सञ्चालनको प्रत्यक्ष प्रभाव राष्ट्रिय उत्पादनमा टेवा पुग्छ, आयोजना सञ्चालन भएपश्चात् धान, गहुँ र मकै खेतीमा राष्ट्रिय औसत उत्पादकत्वभन्दा यो क्षेत्रको उत्पादकत्वमा वृद्धि भएको छ ।’

४.७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा 

आयोजनाले जानकी गाउँपालिका—९ स्थित कटासेमा निर्माण गरेको विद्युत् गृहबाट उत्पादित ४ दशमलव ७१ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । २०८० माघ १७ गतेदेखि विद्युत् गृहबाट उत्पादित विद्युत् लम्कीस्थित प्रसारण केन्द्रबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । आयोजनाले छ वर्षअघि नहरमा आएको पानीबाट विद्युत् उत्पादनको काम सुरु गरेको थियो । 

‘२०८० को माघ महिनाबाट नै आयोजनाले विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण ग्रिडमा जडान गरिसकेको हो’ आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर वीरसिंह धामीले भने विद्युत् उत्पादनको जिम्मेवारीमा रहेका इन्जिनियर धामीले भने, ‘आयोजना र यो क्षेत्रवासीका लागि यो निकै गौरवको क्षण हो, हामीले वार्षिक ४२ गिगावाट विद्युत् ऊर्जा उत्पादन गरिरहेका छौं ।’

पानीको नियमित बहाव हुने नहरबाट विद्युत् उत्पादन हुँदा एकनासको विद्युत् उत्पादन हुने इञ्जिनियर धामीले बताए । पश्चिम नेपालमा दाङको लमहीयता कटासेस्थित एकमात्रै पावर हाउस हो । तराई क्षेत्रमा पनि आठ मिटर बराबरको हेड (उचाइ) बाट बिजुली उत्पादन भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update