Hamro Patra
अब केराबाटै कपडा

टीकापुर, असोज ५
केरा र केराका परिकारका लागि देशभर प्रख्याति कमाई रहेको टीकापुरले खेरजाने केराका थामबाट कपडा उत्पादन गरिरहेको छ । यहाँ उत्पादित केरा देशका विभिन्न शहरहरु नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, सुर्खेत, बुटबल र काठमाडौं लगायतका शहरमा बिक्री हुने गरेको छ ।

एग्रोटुरिज्म व्यवसायी ‘बनाना किङ’ का नामले परिचित कालु हमालले डेढ दशकदेखि केराकै ४२ भन्दा बढी परिकारहरु पस्किरहेको टीकापुरमा केराबाटै कपडा उत्पादन शुरु भएको हो । 

कैलालीको टीकापुर क्षेत्रमा ८ शय ७५ हेक्टर क्षेत्रफलमा हुँदै आएको केराखेतीबाट खेर जाने केराका थामको प्रयोग गरी यहाँका महिलाहरु कपडा उत्पादन गरिरहेका छन् । टीकापुर नगरपालिका वडा नं. ८ बटनपुरस्थित धनसिंहपुर एकता समाज वचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिलाहरुले केराको थामबाट रेशा र कपडा उत्पादन गरिरहेका छन् ।  

Shuvakamana C
Shuvakamana B

सहकारीमा आबद्ध महिलाहरुलाई सहकारीले तालिम दिएपश्चात् उनीहरु दुई वर्षदेखि केराका थामबाट रेशाहरु उत्पादन गरिरहेका हुन् । केराको रेशाहरुबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण बनाउने गरेको स्थानीय कमला साउँदले बताइन् । ‘सहकारीले हामीलाई केराका थामबाट उत्पादित रेशा बिक्री गर्छ, हामीले सामान बनाउने गरेका छौं’ उनले भनिन् ‘हामीले उत्पादन गरेका सामानहरु सहकारीले नै बिक्री गर्न मद्दत गरिरहेको छ ।’ 

सहकारीले दुई वर्षदेखि केरा किसानको बारीमा खेर जाने केराका थामबाट रेशा उत्पादन गर्दै आएको हो । सहकारीमा पाँच जना महिलाले केराका हस्तकलाका सामानहरु बनाइरहेका छन् भने ९ जना महिलाहरु केराको कपडा बनाई रहेका छन् । केराको रेशा र कटन धागो प्रयोग गरी तानको सहायतामा कपडा बनाउन शुरु गरिएको टीकापुर नगरपालिका वडा नं. ७ की सकुन्तला चौधरीले बताइन् । 

‘सहकारीले रेशा उपलब्ध गराएको छ, हामीलाई तान खरिदमा ५० प्रतिशत अनुदान दिएको छ’ चौधरीले भनिन् ‘सहकारीले बिक्री गर्न सहजीकरण गरिरहेकाले हामीलाई थप सजिलो भएको हो, यहाँ उत्पादन गरिएको केराको कपडा काठमाडौंमा बिक्री हुने गरेको छ ।’ 

केराको रेशाबाट हस्तकलाका सामान बनाउँदै आएका महिलाहरु दुई महिनादेखि कपडा बनाई रहेको बताउँछन् । चौधरीले त्यस्ता सामग्रीहरुको बिक्री वितरणका लागि बजारको अभाव नरहेको बताइन् । 

बजारीकरण गर्दै सहकारी

सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामान र केराको कपडाको बजारीकरण गर्दै आइरहेको छ । सहकारीले काठमाडौंमा रहेका विभिन्न उद्योगहरुसँग सहजीकरण गरेर सामान बिक्री गर्न मद्दत गरिरहेको छ । 

‘शुरुमा सहकारीले रेशा उत्पादन गरेर महिलाहरुलाई हस्तकलाका सामान बनाउने, कपडा बनाउने तालिम दिएको हो’ व्यवस्थापक चौधरीले भने ‘हस्तकलाका सामानहरु र कपडा काठमाडौंमा बिक्री गर्न सहकारीले सहजीकरण गरिरहेको छ, महिलाले उत्पादन गरेका सामानको मुल्य उनीहरुकै खातामा आउने गर्छ ।’ 

1000069198-1758429584.jpg
व्यवस्थापक चौधरीका अनुसार दश वटा केराका थामबाट एक केजी रेशा उत्पादन हुने गरेको छ भने एक केजी रेशाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ । उनले केराको रेशाबाट उत्पादित हस्तकलाका सामानहरु ५० देखि १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताउँदै केराको कपडा ३ शय देखि ३ शय ५० रुपैयाँ मिटरमा बिक्री हुने गरेको बताए । 

यहाँका केरा किसानले केराबारीमा खेर जाने थामहरु सहकारीलाई निःशुल्क दिने गरेका छन् । त्यही थामबाट बनाइएको रेशा र रेशाबाट उत्पादित सामानहरु बनाएर महिलाहरु स्वरोजगार बन्दै गएको वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउँछन् ।  

‘केराको रेशाबाट महिलाहरुले हस्तकलाका सामान र कपडा बनाएर आम्दानी गरिरहेका छन्‌’ वडाध्यक्ष ठकुल्लाले भने ‘यसले किसानलाई थाम व्यवस्थापन गर्न सहज भएको छ भने महिलाहरु पनि स्वरोजगार बन्दै गएका छन् ।’

केराको हबका रुपमा विकसित हुँदै गएको टीकापुरमा केराको रेशा उत्पादन शुरु हुनुले पोष्ट हार्भेस्टिङमा किसानलाई सहजता हुने स्कुल अफ एग्रिकल्चर टीकापुरका बागबानी उपप्राध्यापक ऋतम्भर घिमिरे बताउँछन् । 

‘केराको हब बन्दै गएको टीकापुर क्षेत्रका किसानलाई केराको थाम व्यवस्थापन गर्न निकै समस्या हुने गरेको थियो, थामबाट रेशा उत्पादन शुरु हुनुले किसानलाई सहज भएको छ ’ उपप्राध्यापक घिमिरेले भने ‘केरालाई कल्पवृक्ष पनि भनिन्छ, यो बहुउपयोगी फल हो, खानको लागि मात्रै नभएर लगाउनको लागि लुगा समेत बनाउन सकिन्छ ।’

उपप्राध्यापक घिमिरेले खेर जाने थामबाट रेशा उत्पादन गर्ने, मेसिनमा पेलेर बचेको फोहोरलाई जैविक मल बनाएर खेतीमै प्रयोग गर्न सकिने हुनाले यो प्रविधि पर्यावरण संरक्षणमा समेत उल्लेखनीय हुने बताए । ‘पर्यावरणीय संरक्षणका लागि पनि यो प्रभावकारी छ’ घिमिरले भने ‘केराको फाइबर कटनको विकल्पका रुपमा  पनि प्रयोग भइरहेको छ ।’ 

१५ वर्षदेखि केराको कपडा 

नेपालमा विगत १५ वर्षदेखि अन्नपूर्ण ह्यान्डीक्राफ्टका सञ्चालक दिव्य तारा तुलाधरले केराको थामबाट कपडा बनाउन बनाई रहेकी छन् । नेपाल हस्तकला महासंघका उपाध्यक्ष समेत रहेकी उनले केराका थामबाट उत्पादित रेशाका हस्तकलाका सामान बनाउन काठमाडौंमा उद्योग सञ्चालन गरिरहेका छन् ।

तराईका विभिन्न क्षेत्रमा पुगेर केराको रेशाबाट हस्तकलाका सामान बनाउन तालिम दिँदै आएकी तुलाधरले नै टीकापुरमा उत्पादन हुने केराका हस्तकलाका सामान र रेशाहरु खरिद गर्ने गरेकी हुन् । ‘तराईका जिल्लामा केरा धेरै उत्पादन हुने गरेको छ, केरा उत्पादनपछि थाम व्यवस्थापन गर्न किसानलाई सजिलो छैन, ती किसानबाट पाएको निःशुल्क थामबाट कपडा बनाएर बिक्री गर्ने गरेका छौं’ उनले भनिन् । 

तुलाधरका अनुसार अहिले विदेशमा प्राकृतिक स्रोतबाट बनेका कपडाको माग बढ्दो छ । स्वास्थ्यका हिसाबले पनि केराको थामबाट बनेका रेसाको कपडाले विभिन्न रोगबाट बचाउने गरेको उनी बताउँछिन् । तुलाधरको कारखानामा बन्ने केराका नेपाली सामान जर्मनी, अमेरिका, अष्ट्रेलिया लगायतका देशमा बिक्री हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update