टीकापुर, असार ७
विश्वमै दुर्लभ मानिने एक पाटेबाघ मृत अवस्थामा फेला परेको छ । बर्दिया राष्टिय निकुञ्जको टोलीले कैलालीको टीकापुर नगरपालिका वडा नं. २ स्थित जनशक्ति सामुदायिक वनभित्र मृतअवस्थामा फेला पारेको हो ।
आइतवार मध्यान्ह जीपिएस ट्रयाक गरिएको उक्त बाघ खोज्दै बर्दिया राष्टिय निकुञ्जको टोली सामुदायिक वनमा पुगेको थियो । राष्टिय प्राकृतिक संरक्षण कोषका प्राविधिक फिरुलाल थारु, निकुञ्जका गेमस्काउट नरेशविक्रम चौधरीसहित चार जनाको टोलीले बाघलाई मृतअवस्थामा फेला पारेको हो ।
स्थानीयका अनुसार वनभित्र घाँटीमा फलामे तारको पासोमा फसेको बाघ सामुदायिक वनको बेतबात घाँरीमा मृत फेला परेको हो । सब डिभिजन वन कार्यालय टीकापुरका प्रमुख मोहम्मद, ताहाँ हुसेन मिकरानीले घाँटीमा फलामे तारको पासोसहित झण्डै तीन फिट लामो काठसहित बाघ मृत अवस्थामा फेला परेको बताए ।
‘पाटेबाघको घाँटीमा मोटरसाइकलको क्लोज तार जस्तै फलामे डोरीको पासो थियो, तीन फिट ठूलो काठ पनि सँगै थियो’ मिकरानीले भने ‘सायद अन्तै पासोमा फसेर आएको बाघ बेतघारीमा घाँटी कसिएर मरेको हुनसक्छ ।’
निकुञ्जको टोलीले आइतवार मृत अवस्थामा फेला परेको बाघलाई डिभिजन वन कार्यालय टीकापुरका प्रतिनिधि, सामुदायिक वनका अध्यक्षहरु, वडाध्यक्ष र प्रहरीको रोहवरमा मुचुल्का बनाएर शव उठाएको थियो ।
मृतअवस्थामा फेला परेको बाघ टीकापुरबाट १४ किलोमिटर पूर्व पर्ने सव डिभिजन वन कार्यालय लम्कीको प्रांगणमा गाडिएको छ । मिकरानीले निकुञ्जको टोलीको रोहवरमा सुरक्षाका दृष्टिकोणले लम्कीस्थित कार्यालयको प्रांगणमा बाघ गाडिएको बताए ।
‘हाम्रो यहाँ हतियारसहितको सुरक्षा टोली छैन, त्यसकारण हामीले उतै लगेर गाडेका हौं, त्यहाँ हाम्रो हतियारसहितको टोली बस्छ’ मिकरानीले भने ‘घटनास्थलमा हेर्दा तीन दिनअघि मरेको, पुरै सुन्निएको र गन्हाउने अवस्थामा थियो ।’
सामुदायिक वनमा पुगेको निकुञ्जको टोलीले घटनास्थलमा बाघको फोटो नखिच्न र सामाजिक सञ्जालमा पोष्ट नगर्न भनेको थियो । ‘पाटेबाघ विश्वमै दुर्लभ बाघ हो, यो मरेको कुरा कतै नआओस्, हामीलाई समस्या पर्छ’ घटनास्थलमा उपस्थित एक सामुदायिक वनका अध्यक्षले भने ‘यसको समाचार आए, तपाईहरुलाई समेत समस्या पर्छ भनेका थिए ।’

बाघ गाडेर निकुञ्जको टोलीले लम्कीस्थित एक होटलमा बास बसेको थियो । मिकरानीले समेत टोलीले फोटो नखिच्न भनेको बताए । डिभिजन वन कार्यालयले तयार गरेको मुचुल्कामा उक्त पाटेबाघ झण्डै १२ वर्षको वयस्क भाले भएको उल्लेख छ । ‘अन्दाजी १२ वर्षको वयस्क भाले पाटेबाघ बेतबाँसको झाडीमा घाँटीमा तारले पासो लागेर मरेको अवस्थामा फेला परेको हो’ मुचुल्कामा भनिएको छ ।
शितल सामुदायिक वनका अध्यक्ष सिद्धराज ठकुल्लाले विश्वमै दुर्लभ मानिएको पाटेबाघ पासो लागेर मृत अवस्थामा फेला पर्नु दुःखद् घटना भएको बताए । ‘बाघको संरक्षणका लागि यत्रो पहल भइरहेको छ, तर पनि पासोमा बाघ फेला पर्नुले यसको संरक्षणमा थप चासो दिनुपर्ने देखियो’ उनले भने ।
बर्दिया राष्टिय निकुञ्जका अनुसार सन् २००९ मा १८ वटा मात्र पाटेबाघ थिए । पछिल्लो तथ्यांक अनुसार बर्दियामा ८७, चितवन ९३, बाँके २१ पर्सा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ गरी नेपालमा २ शय ३५ वटा पाटेबाघ छन् । बाघलाई पारिस्थितिकिय प्रणालीको सूचक मानिन्छ । बाघ पाइने जंगल जैविक विविधता भरिपूर्ण हुने भएकाले पनि यसको संरक्षण जरुरी छ ।








