
टीकापुर, असार २६
लम्की चुहा नगरपालिकाका दुई छुट्टाछुट्टै ठाउँमा अचेत अवस्थामा भेटिएका दुवैजनाको निधन भएको छ । सुदूरपश्चिम प्रहरीका अनुसार मंगलवार दुवैजना अचेत अवस्थामा भेटिएका थिए ।
मृतकमध्ये एक जनाको मात्रै सनाखत भएको छ । सनाखत हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय सागर विक रहेका छन । अर्का मृतकको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ ।
विक हिजो बाटोमा अचेत अवस्थामा फेला परेका थिए । इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन ।
त्यसैगरी अन्दाजी ५६ वर्षका पुरुष लम्कीचुहा नगरपालिका वडा नम्बर ३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरमाथि अचेत अवस्थामा फेला परेका थिए ।
उनलाई इलाका प्रहरी कार्यालय चिसापानीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन । दुवै घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ ।