टीकापुर, भदौ २०
गौरा तथा अष्टिम्की पर्वको रौनकता हुने कैलालीको टीकापुरका बस्तीमा यतिबेला सन्नाटा छाएको छ । रसुवा र नुवाकोटमा आएको बाढीका कारण विभिन्न आयोजनामा काम गर्ने टीकापुरका २७ जनाको अझै उद्दार हुन नसकेपछि ती बस्तीमा सन्नाटा छाएको हो ।
टीकापुर नगरपालिका वडा नं. १, समितिपुरका नौ जना, मुक्तकमैयाँ बस्तीका छ, एकतापुरका तीन, शक्तिनगर, बेलपुर, विपतपुर, ब्लक नम्बर १३ र ब्लक नम्बर १४ का १–१ जना बेपत्ता रहेको वडा नं. १ का वडाध्यक्ष मोहनबहादुर विकले बताए ।
यसैगरी, वडा नं. ५ का पनि पाँच जना बेपत्ता छन् । वडा नं. १ बाट २५ जना अपर त्रिशुली–१ जलविद्युत आयोजनामा काम गर्न गएकोमा तीन जना मात्रै सम्पर्कमा रहेको वडाध्यक्ष विकले बताए ।
उनले बाढी आएदेखि ती बस्तीमा सन्नाटा छाएको बताए । ‘गाउँमा सन्नाटा छ’ वडाध्यक्ष विकले भने ‘म निरन्तर ति बस्तीहरुमा पुगिरहेको छु । उहाँहरुले छिटो उद्धार गरिदिन माग गरिरहनु भएको छ । हामीले गाउँबाटै खोजी तथा उद्धारका लगि छ जना घटनास्थलतर्फ पठाएका छौं ।’
शक्तिनगरका रमेशकुमार चौधरी, समितिपुरका दिलबहादुर चौधरी र तुलाराम चौधरीले बाढी आउदा भागेर ज्यान जोगाएका छन् । उक्त आयोजनाको बेस क्याम्पमा भान्सेको काम गर्ने भएकाले आफूले भागेर ज्यान जोगाउन सफल भएको रमेशले बताए ।
‘मैले काम गर्न आएको २५ दिन मात्रै भएको थियो’ उनले भने ‘सुरुको पाँच दिन मैले पनि सुरुङमा काम गर्न गए । पछि मान्छे धेरै हुँदा भान्सामा काम गर्ने दुई जना चाहिने भयो । कोही पनि भान्सामा काम रुचि देखाएनन् । त्यसपछि मलाई भान्सामा हेल्फर राखिएको थियो । मैले २० दिन जति भान्सामा काम गरेको भएको थियो ।’
रमेशका अनुसार भान्सेको काम गर्ने समितिपुरका दिलबहादुर चौधरी र टीकापुरबाट आयोजनाका लागि कामदार लग्ने ठेकेदार तुलाराम चौधरी पनि भागेर ज्यान जोगाए । ‘सुरुङभित्र काम गर्न गएका कोही पनि सम्पर्कमा छैन’ रमेशले भने, ‘बाढी आफ्नै अगाडि आइसकेपछि थाहा भयो । बल्ल बल्ल पहाड उक्लिएर ज्यान जोगायौं । दुई घण्टा हिँडिसकेपछि आर्मी क्याम्पमा पुगेर सुरुङभित्र रहेका साथीहरु सुरुङमै फसेको जानकारी गरायौं ।’
दुई दिन आर्मी क्याम्पमै राखिसकेपछि रमेश लगायत ज्यान जोगाउन सफल भएका व्यक्तिहरुलाई सरकारले काठमाडौं ल्याएर राखेको छ । सरकारले बस टिकेट दिएपछि समितिपुरका दिलबहादुर घर फर्किएका छन् । तर, रमेशलाई साथीहरु नभेटिएसम्म घर फर्किन मन छैन ।
सोही सुरुङमा काम गर्न गएका शक्तिनगरका दिलबहादुर चौधरी रमेशका जेठान हुन् । ‘जेठान र साथीहरुको पत्ता नलागेसम्म घर फर्किन मन छैन’ रमेशले भने ‘सरकारले मलाई पनि घर जान टिकट दिएको थियो । तर मैले सरकारलाई मेरा जेठान र साथीहरुलाई नलिएर घर जान्न भनेको छु ।’





