टीकापुर, कात्तिक १०
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको ७४ औं स्थापना दिवस देशैभर विविध कार्यक्रम गरी मनाइएको छ ।
तरुण दल केन्द्रिय कार्यसमितिले मानव सेवामा केन्द्रित कार्यक्रम गर्न निर्देशन दिएअनुसार कैलालीका पाँचवटै क्षेत्रमा विविध कार्यक्रम गरी मनाइएको हो । तरुण दल क्षेत्र नं. १ ले टीकापुर अस्पतालका विभिन्न वार्डमा भर्ना भएका विरामीलाई फलफूल वितरण गरेर स्थापना दिवस मनाएको हो ।
तरुण दलका क्षेत्रीय सभापति कल्पेश कुँवरले अस्पतालमा भर्ना भएका विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेर स्थापना दिवस मनाइएको बताए ।
फलफूल वितरण कार्यक्रमका प्रमुख अतिथि काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सदस्य केशरी विष्टले तरुण दल मानव सेवाका विविध कार्यक्रममा सक्रिय रहँदै आएको बताइन् । उनले पार्टीको सिद्धान्त अनुसार जनताको सेवामा समर्पित हुनका लागि तरुण युवालाई आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै सभापति कुँवरले विगतका दिनझैं तरुण दल आगामी दिनमा समेत विविध कार्यक्रम सञ्चालन गर्दै जनताको सेवामा समर्पित हुने बताए । कार्यक्रममा पार्टीका महाविधेशन प्रतिनिधि, क्षेत्रीय सभापति, नगर सभापति, विद्यार्थी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।





