टीकापुर, भदौ २८
भजनी नगरपालिका वडा नं. ८, सुनाफाँटाका कृष्ण चौधरीले बर्खे धानबाली नलगाएको डेढ दशक भयो । डुबान समस्याका कारण २०६४ सालदेखि चौधरीले १६ बिघा जमिनमा धान खेती गरेका छैनन् । उनको जमिन एक याम बाँझै रहने गरेको छ ।
त्यस्तै टीकापुर नगरपालिका वडा नं. ७, परतीपुरका राजकुमार चौधरीको पनि भएको एक बिघा जमिन बाँझो छ । ‘पानी जम्ने गरेकाले वर्षायाममा खेत खाली छोड्ने गरेको छु’ उनले भने ‘हिउँदमा मात्रै खेतमा गहुँ खेती गर्ने गरेको छु ।’
बर्खायाममा आफ्नो खेत बाँझो राख्ने कृष्ण र राजकुमार प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ तर डुबान समस्याका कारण भजनी र टीकापुर नगरपालिकाका कैयौँ किसानले सयौँ बिघा जमिनमा खेतीपाती गर्न सकेका छैनन् । वर्षात् सुरु हुनेबित्तिक्कै खेत तालजस्तो बन्ने गरेकाले उनीहरूले कैयौँ वर्षदेखि एक सिजन जमिन बाँझो राख्दै आएका छन् ।
‘जमिन बाँझो राख्ने रहर त होइन’ भजनी नगरपालिका वडा नं. ८, सुनाफाँटाका कृष्णलाल धमलाले भने ‘तर वर्षायाममा केही नहुने गरेकाले बाध्य भएर खेत खाली छोड्नु परेको हो।’ उनका अनुसार कतिपय किसानले गुजाराका लागि चैते धान खेती गर्ने गरेका छन् तर चैते धान खेती नगरेका किसानले वर्षा यामभरि नै खेत खाली छोड्ने गरेका छन्। आफूले पनि हरेक वर्ष एक याम चार बिघा जमिन बाँझो छोड्दै आएको धमलाले बताए । ‘यो वर्ष पनि चार बिघा जमिनमा मैले केही पनि लगाएको छैन’ उनले भने ।
भजनी नगरपालिकाको सुनाफाँटा क्षेत्र सबैभन्दा भिरालो (खल्ला) जमिन भएको क्षेत्र हो। पथरैया र काँढा नदीको बीचमा रहेको ठूलो सो फाँटमा कतै पनि वर्षायाममा धान देखिँदैन। सो फाँट प्रायः पानीले भरिएको हुन्छ। बाढी आएको बेला जता हेर्यो उतै, समुद्र जस्तै पानीपानी देखिने गर्दछ। पानी घटेको बेला घाँसैघाँस ।
त्यस्तै भजनी नगरपालिकाकै वडा नं. ३ मा रहेको मन्त्रीफाँटा र टीकापुर नगरपालिकास्थित पथरैया नदी किनार आसपासका कैयौँ किसानले पनि आफ्नो जमिनमा खेतीपाती गर्दैनन् ।
ठूलो लगानी लगाएर रोपाइँ गर्दा बाढी, डुबान समस्याका कारण नोक्सान हुने कारणले किसानले खेत बाँझै छोड्न थालेको स्थानीय पत्रकार खेमराज पाण्डेयको भनाइ छ। ‘खास गरेर २०६४ सालको बाढीपछि डुबान समस्या बढ्यो’ उनले भने ‘त्यसपछि किसानका सयौँ बिघा जमिन खाली रहँदै आएको छ।’
लगानी डुब्ने गरेका कारणले किसानले खेत बाँझो छोड्न थालेका हुन्। एक सिजन खाली छोडेका कतिपय किसानले हिउँदे बाली भने लगाउने गरेका छन् तर किसानले गिलो/ओसिलो जमिनका कारण गहुँ पनि नछर्ने गरेको राजकुमार चौधरीको भनाइ छ। उनका अनुसार खेतमा जमेको पानी हिउँद्का बेला ढिलो गरी सुक्दा हिउँदे बाली छर्न ढिलो हुने गरेको छ ।
डुबान समस्याका कारण आफ्नो जमिनमा खेती गर्न नपाएका भजनीका कतिपय किसानले गुजाराका लागि जमिनको माटो बिक्री गर्दै आएका छन्। सुक्खायाममा उनीहरूले विभिन्न निर्माण कम्पनीलाई खेतको माटो बिक्री गर्दै आएका पत्रकार पाण्डेयले बताए ।
वडा नम्बर ८ र ३ मा किसानले जमिन बाँझो राख्ने समस्या रहेको भजनी नगरपालिकाको कृषि शाखाले जानकारी दिएको छ । दुवै वडाका गरेर झन्डै अढाई/तीन सय विघा जमिन वर्षात्मा बाँझो रहने गरेको कृषि शाखाका प्राविधिक सहायक कमलप्रसाद चौधरीले बताए । ‘खुला जमिन एक याम बाँझो रहन्छ’ उनले भने ‘अर्को याममा गहुँ, तोरी, मसुरो बाली लगाउने गरेका छन् ।’



