Hamro Patra
जलवायु संकटसँग जुध्न खेती प्रणाली परिवर्तन

टीकापुर, वैशाख ७
‘क्लाइमेट चेन्ज रेजिलेन्स’का नाममा जलवायु परिवर्तनका नकारात्मक प्रभावबाट किसानलाई कसरी जोगाउने भनेर संसारभरि अनेक अनुसन्धान भइरहेका बेला कैलालीको सीमावर्ती भजनीका किसान भने चुपचाप आफ्नो धान खेती प्रणालीलाई नै परिवर्तन गरिसकेका छन् ।  

विश्वका जलवायु वैज्ञानिकहरूले मौसम अनुकूलन वा जलवायु परिवर्तनको सामना गर्ने क्षमता बढाउने चर्चा गरिरहँदा राजधानी काठमाडौंदेखि झण्डै ६ शय किलोमिटर पश्चिम भजनीका किसानले विस्तारै वर्षे धान छोडेर चैते धानलाई आफ्नो मुख्य बाली बनाएका हुन् । 

वर्षेनी आउने बाढीका कारण वर्षायाममा जमिन बाँझै रहन थालेपछि एक दशक अघिदेखि भजनी नगरपालिका वडा नं. ८ का किसान जयराज ढुंगानाले चैते धान खेती शुरु गरे । कैलालीको चुरे क्षेत्र भएर बहने मोहना, पथरैया, काढा र कान्द्रा नदीमा आउने बाढीका कारण वर्षेखेती गर्न जोखिम हुने भएपछि यहाँका किसानहरुले चैते धान खेती शुरु गरेका हुन् । 

नेपालका किसानका लागि मुख्य खाद्यान्न बालीका रुपमा रहेको धानखेती वर्षायाम हुने भए पनि सीमावर्ती भजनीका किसानहरु वर्षायाममा जमिन बाँझो छोड्छन् । हिउँदयामको शुरुवातमै तोरी, मसुरो जस्ता बालीको खेती गर्छन् । फागुनमा तोरी भित्र्याएसँगै उनीहरु चैते धान रोप्छन् । 

किसान अगुवा ढुंगाना मात्रै होइनन् पालिकाका अधिकांश किसानहरु वर्षायामको बाँझो जमिनमा हिउँदे तोरी लगाउँछन्, तोरी भित्र्याएसँगै फागुनदेखि नै चैते धान रोप्छन् र असारको शुरुवातमै धान भित्र्याउँछन् । वर्षायामा बाढी नआउँदा भने उनीहरु वर्षेधान लगाउँछन् । जसले यहाँका किसानहरु एक वर्षमै दुईपटक धानबाली भित्र्याउँछन् ।    

दशकअघि सम्म हिउँदेखेती भित्र्याएर बाँझो रहने यहाँको अधिकांश जमिनमा यतिबेला चैते धानका हरिया फाँटहरु देखिन्छन् । ‘वर्षेनी बाढीबाट प्रभावित यस क्षेत्रका किसानका लागि चैतेधान बरदान नै भएको छ’ विगत बाह्र वर्षदेखि चैते धानखेती गर्दै आइरहेका ढुंगानाले भने ‘हाम्रो खेतीको प्रणाली नै फेरिएको छ, वर्षामा बाँझो रहने जमिनमा तोरी, गहुँ लगाएर चैते धान लगाउँदै आएका छौं, वर्षामा बाढी नआउँदा भने वर्षे धान समेत लगाउँछौं ।’

ढुंगानाले बाढी प्रभावित क्षेत्रका किसानका लागि जिविकोपार्जनको उपयुक्त विकल्प बनेको चैते धान पाँच बिघा क्षेत्रफलमा लगाइरहेका छन् । ‘वर्षे धान भन्दा बढी फल्ने हुनाले यहाँका अधिकांश किसान खान र बिक्री गर्नका लागि चैते धान लगाइरहेका छन्‌’ प्रतिविघा ४० क्वीन्टलसम्म धान फलाएका किसान ढुंगानाले भने ‘सिँचाइको सुविधा भए बाढी प्रभावित क्षेत्रका किसानका लागि चैते धान नै मुख्य खाद्यान्न बाली हो ।’ 

अत्याधिक डुबान हुने क्षेत्रका रुपमा रहेको भजनीको खेतीयोग्य जमिनमा बाढीले कहिल्यै फल्न आँटेको फाँटमा बालुवा पाटिन्छ त कहिले भित्र्याउने समयमा अन्नबाली बगाएर सोत्तर पार्छ । डुबानको यही समस्याबाट गुज्रिरहेको भजनी नगरपालिका वडा नं. ३ का शर्मिला चौधरीको परिवारका लागि चैतेधान खेती आम्दानीको मुख्यश्रोत बनेको छ ।चौधरीको परिवारले विगत एघार वर्षदेखि नै चार बिघा खेतमा चैते धान लगाउँदै आएका छन् ।

‘दुई तीन पटक वर्षामा लगाएको धान बाढीले बगाएपछि चैते धान लगाउन शुरु गरेका थियौं’ उनले भनिन् ‘आफूले लगाएको मेहनत फलेर भित्र्याउने बेला बाढीले बगाउने, बालुवा पाटिने हुन थालेपछि चैते धान खेती गरेका थियौं, आजभोलि गाउँका सबै किसानहरु लगाइरहेका छन् ।’ 

बाढीका कारण वर्षे धानखेतीमा वर्षेनी क्षति पुग्न थालेपछि वैकल्पिक खेतीका रुपमा चैते धान खेती गरिरहेका किसानहरु स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकारका निकायले चैते धान खेती विस्तारमा सहयोग गर्न थालेपछि व्यावसायिक रुपमै चैते धानखेती गरिरहेका छन् । भजनी नगरपालिकाका कृषि अधिकृत सुशोभन अधिकारीका अनुसार पालिकाका वडा नं. ३, ४, ५, ६, ७ र ८ सहित सबै वडाहरुमा १ हजार २ शय भन्दा बढी हेक्टर जमिनमा चैते धान खेती भइरहेको छ । 

‘डुबान क्षेत्र भएकाले विकल्पको रुपमा शुरु गरिएको चैते धान खेती यहाँका किसानका लागि बोनसखेती जस्तै भइरहेको छ’ कृषि अधिकृत अधिकारीले भने ‘बाढी प्रभावित नभएको ठाउँमा किसानले चैते र वर्षे गरी दुई बाली धान उत्पादन गरिरहेका छन्, जहाँ बाढी आउँछ, त्यहाँ चैते धानखेती भइरहेको छ ।’ भजनी नगरपालिकामा मात्रै ८ हजार ९ शय हेक्टर कृषियोग्य जमिन छ भने ८ हजार २ शय हेक्टरमा खेती हुने गरेको पालिकाको तथ्यांक छ ।

कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले बाढीको जोखिममा रहेका भजनी नगरपालिकासहित टीकापुर, घोडाघोडी नगरपालिका तथा जानकी, जोशीपुर, बर्दगोरिया र कैलारी गाउँपालिकामा चैते धान खेती हुँदै आएको बताए । 

कृषि विकास तथा पशुपन्छी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १ लाख ७ हजार ७९० हेक्टर क्षेत्रफलमा चैतेधान लगाइएको छ भने आर्थिक वर्ष २०७८/०७९ मा १ लाख १९ हजार ५६१ हेक्टरमा लगाइएको थियो ।  

सिँचाइको सुविधा भएका किसानहरुले चैत्रमा बाँझो रहने खेतीमा लगाउने हुनाले किसानका लागि चैते धान खेती अतिरिक्त आम्दानीको श्रोत बनेको कृषि प्रसार अधिकृत रामनारायण चौधरी बताउँछन् । सिँचाइ सुविधा पुर्याउन सके चैते धान खेतीको उत्पादन प्रतिहेक्टर ६० क्वीन्टलसम्म रहेको अधिकृत चौधरीले बताए ।

चौधरीका अनुसार आकाशमा बादल नलाग्ने बेला, सूर्यको ताप बढी हुने र सूर्यको किरण शक्ति बालीको हरित कणमार्फत बालीले तान्ने र रोगकिरा समेत कम लाग्ने हुनाले असारको तुलनामा चैते धान धेरै उत्पादन हुन्छ । कैलालीमा १ हजार ५ शय हेक्टर जमिनमा चैते धान खेती हुँदै आएको छ भने ५ हजार ७ शय २० मेट्रिक टन चैते धान उत्पादन हुँदै आएको छ । 

कसले गर्दैछन् सहयोग ?

चैते धान खेतीको विस्तारका लागि स्थानीय पालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र, राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना र विभिन्न गैरसरकारी संघसंस्थाले समेत किसानहरुलाई सहयोग गरिरहेका छन् । स्थानीय सरकार तथा आयोजनाले बिउ, सिँचाइ, मलखाद, प्रविधि तथा प्राविधिक सहयोग गरिरहेका छन् । 

पालिकाले किसानका लागि आवश्यक विद्युतीय सिँचाइ मोटर, सिँचाइ पम्पसेट तथा प्राविधिक सहयोग गरिरहेको छ भने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बिउविजन, तालिम, कृषि यान्त्रिकरण, विषादीमा अनुदान दिइरहेको छ । 

प्रदेश सरकार मातहतको कृषि ज्ञानकेन्द्रले समेत बिउबिजन, कृषि यन्त्र, विषादीमा अनुदान दिइरहेको छ । सिँचाइ आयोजनाले समेत किसानलाई आवश्यक पर्ने पम्पसेट, विद्युतीय मोटर तथा कृषि यन्त्रहरुमा अनुदान दिइरहेको छ । 
विभिन्न संघसंस्थाहरुबाट सहयोग हुन थालेपछि यहाँका किसानहरु चैते धानको व्यावसायिक खेतीतर्फ आकर्षित भइरहेका छन् ।  

‘सिँचाइका लागि डिजल चाहियो, मलखाद पनि बेमौसम भएको हुनाले नपाइने समस्या हुने गरेको छ’ भजनी वडा नं. ६ का किसन चौधरीले भने ‘स्थानीय सरकार, ज्ञानकेन्द्र, आयोजनाले सिँचाइका लागि मोटर, मलखाद्य र बिउ तथा हाते ट्याक्टर जस्ता प्रविधिमा सहयोग गरिरहेका छन्, जसले यहाँ चैते धान खेती गर्ने किसानको संख्या बढ्दै गइरहेको     छ ।’

कुन प्रदेशमा कति उत्पादन ?

नेपालमा चैते धान सबैभन्दा धेरै कोशी प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेशमा चैते धान ५२ हजार ९१५ हेक्टरबाट २ लाख ७९ हजार १९२ टन धान उत्पादन भएको थियो भने कर्णाली प्रदेशमा ४० हेक्टरमा १६९ टन चैते धान उत्पादन भएको देखिन्छ । 

यस्तै मधेश प्रदेशमा चैते धान २८ हजार ८०२ हेक्टरमा खेती हुँदा १ लाख ४२ हजार ८७२ टन उत्पादन भएको छ । बागमती प्रदेशमा चैते धान खेती १८ हजार २६५ हेक्टरमा भएको थियो भने उत्पादन ८६ हजार ३२० टन भएको थियो ।
गण्डकी प्रदेशमा ४ हजार ८ सय हेक्टरमा मात्रै चैते धान खेती हुँदा २३ हजार ५४९ टन उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा १ हजार ६०५ हेक्टरमा खेती हुने चैते धान उत्पादन ७ हजार ५१५ टन उत्पादन भएको देखिन्छ । तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा १ हजार ३६३ हेक्टरमा लगाइएको चैते धान उत्पादन ७ हजार १०५ टन थियो । 

घट्दो क्रममा चैते धान खेती

बाढी प्रभावित क्षेत्रका लागि जलवायु अनुकुलन मानिएको चैतेधान खेती बिस्तार भइरहेको भए पनि देशभर भने चैते धान खेती घट्दो क्रममा छ । कृषि विकास तथा पशुपन्छी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा १ लाख ७ हजार ७९० हेक्टर क्षेत्रफलमा चैतेधान लगाइएको छ भने आर्थिक वर्ष २०७८/०७९ मा १ लाख १९ हजार ५६१ हेक्टरमा लगाइएको थियो ।  

मन्त्रालयको योजना तथा विकास समन्वय समितिबाट प्रकाशित नेपाली कृषि तथ्यांक २०८१/०८२ का अनुसार चैते धान ५ लाख ४६ हजार ७२२ मेट्रिक टन उत्पादन भएको छ । नेपालको कृषि अर्थतन्त्रमा महत्वपूर्ण खाद्यान्न बालीका रूपमा रहेको धानले देशको कुल गार्हस्थ्य उत्पादनको ७% ओगटेको छ भने कृषि गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत ओगटेको छ । 

नेपालमा तराई, मध्यतराई, मध्यपहाड र उच्चपहाड क्षेत्रमा चैते धान खेती गरिँदै आएको छ । मन्त्रालयका अनुसार करिब ९२% धान खेती वर्षायाम गरिँदै आएको छ भने करिब ७% चैते धानका रूपमा र १% माघको अन्तिममा रोपिँदै आएको छ । 

चैते धान खेती विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धानको सुपर जोन, जोन, बल्क, पकेट कार्यक्रम तथा प्रदेश र स्थानीय तहले समेत कार्यक्रम सञ्चालन गरिरहेका भए पनि जमिनको खण्डीकरण, सिँचाइको अभावका कारण धान खेती बढ्न नसकेको हो । 

कृषि विभागका तथ्यांक अधिकृत कमलराज गौतम पर्याप्त सिँचाइको सुविधा नहुनु, चैते धानको बिक्रीमा समस्या हुनु, किसानले उचित मूल्य नपाउने जस्ता कारणले चैते धान खेती विस्तार हुन नसकेको बताउँछन् । 

‘चैते धानमा चिस्यानको मात्रा धेरै हुने, असारमा भित्र्याउने हुनाले धान सुकाउन नसकिने हुँदा चैते धानको बजार माग समेत कम छ’ अधिकृत गौतमले भने ‘सरकारले चैते धान खेती विस्तारका लागि काम गरिरहेको भए पनि मुख्य रुपमा किसानले उचित मूल्य नपाउँदा खेती विस्तार सोचेंअनुरुप हुन सकेको छैन ।’ 

खेतीयोग्य जमिन घर घडेरीका रुपमा प्रयोग हुनु, किसानहरु व्यापार/व्यवसायमा लाग्नु, प्लटिङले जग्गा ध्रुवीकरणको समस्या बढ्नु जस्ता कारणले समेत चैते धानमा कमी आइरहेको छ । 

तोकेको मूल्य पाउँदैनन् किसान

वर्षे धान भन्दा बढी फल्ने भए पनि उत्पादित धानको उचित मुल्य नपाउँदा चैते धानको उत्पादनमा वृद्धि हुन नसकेको जोशीपुर गाउँपालिका वडा नं. ३ का किसान रमेश परियार बताउँछन् । 

‘गत वर्ष सरकारले तोकेको भन्दा कम मूल्यमा हामीले धान बेच्नु परेको थियो’ परियारले भने ‘गत वर्ष सरकारले २ हजार ८ शय रुपैयाँ मुल्य तोकेको भए पनि धानमा चिस्यान छ भनेर व्यापारीले २ हजार ६ शय रुपैयाँमा धान खरिद गरे। कतिपय किसानले त २ हजार २ शयमै बिक्री गर्नु परेको थियो ।’

चिउरा र भुजा उत्पादनका लागि राम्रो मानिने चैते धान असारमा भित्र्याउनु पर्दा उचित मूल्य नपाएको भजनी नगरपालिका वडा नं. ६ का किसान हरिप्रसाद चौधरी बताउँछन् । ‘असारमा राम्रोसँग धान सुकेको हुँदैन, चिस्यान बढी छ भन्दै व्यापारीले कम मुल्यमा धान लिन्छन्‌’ चौधरीले भने ‘धान सुकाउने ड्रायर मेसिन उपलब्ध गराए किसानले उचित मूल्य पाउने थिए ।’ 

भजनीकै वडा नं. ४ का किसान सोनु डगौरा किसानले उत्पादन गरेको चैते धान खाद्य संस्थानले सहजै खरिद गरे किसानहरु उत्पादन बढाउने बताउँछन् । ‘हामीले खानका लागि मात्रै लगाउने गरेका छौं, सरकारले खरिद गर्ने व्यवस्था गर्न सकेका खण्डमा पर्याप्त चैते खेती गर्न सकिन्छ’ उनले भने ‘त्यसका लागि खाद्य संस्थानले हाम्रो उत्पादन चैते धानको उचित मूल्यमा खरिद गर्नुपर्छ ।’ 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य प्रति क्वीन्टल २ हजार ८ शय ५६ रुपैयाँ ४९ पैसा तोकेको छ, जुन गत वर्षको तुलनामा ५५ रुपैयाँ ८ पैसाले बढी हो । गत वर्षमा चैते धान २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल थियो ।

मन्त्रालयका अनुसार चैते धानको यो समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागु हुनेछ । धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्वीन्टल १ किलो २ शय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको हो । किसानहरूलाई उत्पादनमा प्रोत्साहन गर्न र बजारमा उचित मूल्यको ग्यारेन्टी गर्न सरकारले हरेक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ । 

जलवायु अनुकुलन खेती

जलवायु तथा विपद् विज्ञ डाक्टर धरमराज उप्रेती जलवायु परिवर्तनका असरहरुबाट बच्न बाढी प्रभावित क्षेत्रमा जलवायु अनुकुलन हुने गरी चैते धान खेती भइरहेको बताउँछन् । 

‘जलवायु परिवर्तनको असरले हाम्रो मौसमी प्रणाली नै प्रभावित भएको छ, यसले खेती प्रणालीमा समेत प्रभाव पारेको छ’ डाक्टर उप्रेतीले भने ‘हरेक वर्ष आउने बाढीले धान बगाउने, किसानको लगानी खेर जाने हुँदा चैते धान खेती जलवायु अनुकुलन हुँदै आएको छ ।’ 

बाढी प्रकोपबाट प्रभावित भएका अन्य जिल्लामा समेत सिँचाइको सुविधा पुर्याएर चैते धान खेती विस्तार गर्नुपर्ने डाक्टर उप्रेती बताउँछन् । ‘चैत, बैशाख सुख्खायाम हुनाले सिँचाइको सुविधा पुर्याउन सके देशैभर बाढी प्रभावित क्षेत्रका किसानका लागि चैते धान उत्तम विकल्प बन्न सक्छ, यसको विस्तारका लागि सरकारले ठोस योजना बनाउन आवश्यक छ ।’

यस्ता छन्, चुनौति

भजनी नगरपालिका वडा नं. ५ का किसान महेश बुढाले चैते धान खेती गर्न भरपर्दो सिँचाइ सुविधा र समयमा मलखाद नपाउने समस्या रहेको बताए । ‘सिँचाइका लागि पम्पसेटमा डिजल चाहिन्छ, यो वर्ष डिजेलको मुल्यमा वृद्धि हुँदा किसानको लागत बढ्यो’ उनले भने ‘चैते धान बेमौसममा खेती हुने भएकाले मलखाद नपाइने समस्या छ, सबै ठाउँमा विद्युत पुगेको छैन ।’

बाढी प्रभावित क्षेत्रमा हुने चैते धान समेत बाढीबाट प्रभावित हुने गरेको छ । असार दोश्रो सातासम्म भित्र्याउन नसके बाढीबाट प्रभावित हुने गरेकाले चैते धान खेतीको बिमा गर्नुपर्ने स्थानीय किसानहरु बताउँछन् । कैलारी गाउँपालिका वडा नं. ३ का किसान हिरालाल चौधरी असार पहिलो साता बाढी आए चैते धान खेती प्रभावित हुने बताउँछन् । 

‘विपद त जहिले नि आउन सक्छ, त्यसका लागि सरकारले अन्य बाली जस्तै चैते धानबालीको समेत बिमा गर्ने व्यवस्था गर्नुपर्छ’ चौधरीले भने ‘बाढी प्रभावित क्षेत्रमा खेती हुनाले अन्य बाली भन्दा चैतेधान बढी जोखिमपूर्ण छ, त्यसैले पनि बिमाको व्यवस्था हुनैपर्छ ।’

उत्पादन बढाउन प्रविधिको प्रयोग

उन्नत प्रविधिको प्रयोग गरेर चैते धानको लागत घटाएर उत्पादन बढाउन सकिने सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका पूर्व डीन डाक्टर विष्णुविलाश अधिकारी बताउँछन् । 

‘प्लाष्टिकको घरभित्र माघमै बिउ राखेर फागुन पहिलो साता नै मेसिनहरुबाट रोप्न सकिन्छ, जसले धान र पराल दुबै सुरक्षित भित्र्याउन सकिन्छ’ असारमा स्याहार्नु पर्दा किसानलाई समस्या हुने गरेको बताउँदै डाक्टर अधिकारीले भने ‘ हाम्रा सिँचाइ प्रणालीको उपयोग हुने, खाली जमिनमा खेती हुने, वार्षिक बालीको संख्या बढ्ने र रोग किरा समेत कम लाग्ने हुनाले राज्यले चैते धान खेतीको विस्तारमा विशेष ध्यान दिनुपर्छ ।’ 

नेपालमा हर्दिनाथ–१, हर्दिनाथ–३ र चैते–५ जस्ता छिटो पाक्ने र बढी उत्पादन दिने धानको खेती हुँदै आएको छ । सघन धान खेती प्रविधिको प्रयोग गरेर कम बीउ, कम पानी र थोरै मल प्रयोग गरेर बिरुवालाई पर्याप्त हावा र प्रकाश पुग्ने गरी लाइनमा रोप्दा उत्पादनमा उल्लेख्य वृद्धि हुने गरेको कृषि विज्ञहरु बताउँछन् । 

‘धान खेतीमा कृषि यान्त्रीकरण गर्दै रोप्न ‘राइस ट्रान्सप्लान्टर्स’, गोड्न ‘विडर’ र काट्न तथा चुट्न ‘रिपर’, ‘कम्बाइन हार्भेस्टर’ मेसिनको प्रयोग गर्न सकिन्छ’ डाक्टर अधिकारीले भने ‘किसानलाई नयाँ प्रविधि र बजारसँग जोड्न राज्यका निकायहरुले ध्यान दिन सके धानमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ ।’

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update