सविता बुढा
धनगढी, कात्तिक २२
कपाल काट्ने पेसा गर्ने व्यक्ति कराते खेलाडी ! खेलाडी मात्रै हो र, राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता !
यी हुन् कैलालीको गोदावरी नगरपालिकाका आनन्द विक । प्रशिक्षक सन्तोष विकको प्रेरणा र प्रशिक्षणबाट आनन्द कपाल काट्दा काट्दै एकाएक राष्ट्रिय प्रतियोगिताका विजेता बने ।
स्वर्ण पदकले आनन्दको जीवनमा खुसी ल्याएको भए पनि त्यहाँसम्म पुग्नमा उनले कम्ती संघर्ष गर्नुपरेको छैन ।
राष्ट्रिय गोजरियो कराते डो संघको ’ओलानी डोजो’ का प्रशिक्षक सन्तोष विक आफ्ना शिष्यले स्वर्ण पदक जितेर आउँदा कम्ता खुसी छैनन् । तेह्र वर्ष सिकेर ब्ल्याक बेल्ट पाएपछि सन्तोषले कराते खेल्न छोडेका थिए । आठ वर्षअघि उनले इच्छुकहरूलाई गाउँमा कराते प्रशिक्षण दिन सुरू गरेका हुन् ।
सन्तोषको सपना थियो, देशका लागि मेडल जित्ने । एउटा प्रतियोगिता थियो ६ वर्षअघि । चोटका कारण सहभागी हुन सकेनन् । उनले आर्थिक समस्याका कारण अलिअलि भए पनि खर्च चल्छ कि भन्ने सोचेर करातेको प्रशिक्षण दिन थाले ।
‘पारिवारिक दुःख र खुट्टाको चोटका कारणले म प्रतियोगितामा सहभागी हुन सकिनँ । अहिले खेल्न छोडेर खेलाउँदै छु,’ उनले भने, ‘देश र हाम्रो ठाउँको लागि मैले सिकाएका खेलाडीहरूले खेल्न सकून् भनेर प्रशिक्षण दिन्छु ।’
सन्तोष आफ्ना खेलाडीले मेडल (पदक) जित्ने गरी खेल्न सकून् भन्ने हिसाबले प्रशिक्षण गराउँछन् । मेडल जित्ने आफ्नो लक्ष्य शिष्यमार्फत पूरा गर्न उनी सफल भएका छन् ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सन्तोषले प्रशिक्षण दिएका खेलाडी आनन्द विकले करातेमा स्वर्ण पदक जिते । आनन्दले ५० किलो तौल समूहमा गोल्डमेडल जितेपछि सन्तोष मात्र नभई यति बेला ओलानीवासी नै हर्षित छन् ।
पदक जितेपछि गाउँले, स्थानीय सरकारका जनप्रतिनिधि, खेलाडी र खेलकर्मीले बाजागाजासहित आनन्दको स्वागत गरेका थिए ।
गरिब परिवारका आनन्दलाई खेलले प्रतिष्ठा दिलाएपछि नयाँ खेलाडी पनि उत्साहित भएका छन । ओलानी डोजोमा प्रशिक्षण लिने खेलाडीहरू आनन्दले जस्तै आफ्नो ठाउँ चिनाउने र केही राम्रो गर्ने आँट आएको बताउँछन् ।
स्वर्ण पदक जितेपछि आनन्दलाई राष्ट्रिय गोजुरियो कराते डो संघ, नेपालले २५ हजार रूपैयाँ नगद दिने निर्णय गरेको छ । कास्य पदक जित्ने अरू खेलाडीलाई जनही १० हजार र टिम इभेन्टमा संघका खेलाडीलाई जनही सात हजार रूपैयाँ पुरस्कार दिने संघका सभापति गणेश कार्कीले बताए ।
गाउँमा अहिले पनि आनन्दको तारिफ भइरहेको छ । आनन्दलाई गाउँलेहरूले खेलमा अझै प्रगति गर्नुपर्छ भनेर प्रोत्साहित गरिरहेका छन् ।
खेलले प्रतिष्ठा दिलाए पनि परिवारको आर्थिक अवस्था नाजुक भएकाले आनन्दलाई खेलमा टिकिरहन चुनौती छ । आनन्दले सानै उमेरमा कराते सुरू गरेका थिए । सन्तोषले गाउँमा कराते सिकाउँदा आनन्द १० वर्ष उमेरका थिए ।
‘१०–११ वर्षको हुँदादेखि कराते खेल्दै आएँ । हुर्किँदै गर्दा उमेर बितेको थाहै भएन । बिस्तारै जिम्मेवारी बढ्दै गयो । बीचमा खेल छोड्ने अवस्था आयो,’ उनले भने ।
आनन्द घरको कमजोर आर्थिक अवस्थाले भौंतारिँदै खेल छाडेर पटकपटक भारत पसे । प्रशिक्षक सन्तोषको सहयोगले फेरि खेलमा फर्केका आनन्द राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भए ।
आनन्द भन्छन्, ’गुरु (सन्तोष) ले गर्दा मैले मेडल जितेको हुँ । उहाँकै कारण मैले खेल जीवन बुझेँ । केही गर्न सक्ने आँट पलायो ।’
एकचोटि आनन्द खेल छाडेर भारतमै बस्ने सोचले गएका थिए । सन्तोषले घर फर्किन र खेल नछोड्न आग्रह गर्दै बारम्बार फोन गरे । आनन्दसँग घर फर्किने पैसा भएन । सन्तोषकै मद्दतले धनगढी आए । उनलाई कुनै पनि हालतमा खेल नछाड्न पनि सन्तोषले आग्रह गरे । थोरैतिनो आम्दानीको बाटो देखाए ।
‘गुरुले मैले गर्ने प्रशिक्षकको काम तिमी पनि गर, त्यहाँबाट आएको पैसा लग भन्नुभयो,’ उनले भने, ‘यतिले पनि नपुगे घरखर्च चलाउन र खेल्न पैसाको बन्दोबस्त मिलाइदिन्छु भन्नुभयो ।’
करातेमा आनन्दको राम्रो सम्भावना देखेर सन्तोषले क्षमताले भ्याएसम्म सहयोग गरे । आनन्दले पनि राम्रो गर्दै गए ।
‘तिमीले देशको लागि मेडल ल्याउँछौ, खेल नछोड भनेर गुरुले हौसला दिनुहुन्छ,’ आनन्दले भने ।
गुरुको हौसलाले कराते खेलाडी बनेका २१ वर्षीय आनन्द जीवन धान्न अहिले कपाल काट्ने पेसा गर्छन् । कैलालीको गोदावरी नगरपालिका–११, ओलानीमा उनको घर छ । ओलानीमै सानो सैलुन राखेका छन् ।
आनन्द दुई वर्ष उमेरका छँदा भारतमा चौकीदारी काम गर्ने उनका बुबाको निधन भयो । आमा अहिले पनि भारतमै काम गर्छिन् ।
‘आमा भारतमै काम गर्नुहुन्छ,’ उनले भने, ‘हाम्रो अवस्था देखेर उहाँलाई फर्केर यतै बस्न मन लाग्दैन ।’
उनका अनुसार आमा कहिलेकाहीँ मात्र घर आउँछिन् । उनी भारतमा घरेलु काम गर्छिन् । त्यस बापत पाएको पैसा घर पठाउँछिन् । स्वर्ण पदक जितेको खुसी आनन्दले आमासँग बाँड्न पाएका छैनन् ।
कमजोर आर्थिक अवस्थाकै कारण आनन्दले कक्षा १२ पछि पढाइ अघि बढाएनन् । सैलुनले पनि सबै खर्च धान्ने गरी आम्दानी दिन सकेको छैन ।
‘अझै धेरै जिम्मेवारी आमाले लिनुभएको छ । आमालाई घरै बस्नुस् भन्न सकेको छैन,’ उनी भन्छन्, ‘बहिनीलाई पढाउन आमाले कमाउनु परेको छ ।’
आनन्दले सहकारीबाट केही ऋण निकालेर सैलुनमा सामान जोडेका छन् । अहिले उनको सैलुन पहिलेको भन्दा व्यवस्थित छ । गाउँ भएकाले कपाल काट्ने आउने चाहिँ थोरै हुन्छन् ।
उनी बिहान साढे ५ देखि ८ बजेसम्म कराते खेल्छन्, तालिम लिन्छन्, तालिम दिन्छन् । यसपछि बेलुका ५ बजेसम्म सैलुन चलाउँछन् । घरव्यवहार भने उनकी श्रीमतीले सम्हालेकी छन् ।
साभारः सेतोपाटी




