टीकापुर, पौष १२
परम्परादेखि नै ग्रामीण महिलाको प्राकृतिक स्रोतसँग अन्योन्याश्रित सम्बन्ध रहि आएको छ । वनजङ्गल महिलाका जीवनको अभिन्न अङ्ग हुन् । कृषि पेसासँग आबद्ध महिला घाँसदाउरा, स्याउला, जडीबुटीजस्ता वन पैदावारमा निर्भर मात्र रहेका छैनन्, बरु उनीहरू वनजङ्गल र वातावरण संरक्षण एवं व्यवस्थापनजस्ता गहन जिम्मेवारी लिनसमेत विगतदेखि तयार भएर आएका छन् ।
भीममाया तामाङ अध्यक्ष रहेको त्रिवेणी सामुदायिक वनको अवस्था आजभन्दा दुई दशकअगाडि उजाड थियो । पहाडबाट बसाइँ सरी आउने जङ्गलको छेउमा थोरै जग्गा लिने अनि जङ्गल अतिक्रमण गर्दै जग्गा बढाउने कार्य हुन्थ्यो । चारैतिर बस्ती रहेको सो सामुदायिक वन क्षेत्र साँघुरिँदै गएको थियो भने अनियन्त्रित घाँसदाउरा निकासीले वन उजाड बन्दै थियो ।
सामुदायिक वन भएसँगै २०५५ सालमा उक्त वनको अध्यक्षमा तामाङ आएपछि वनको हैसियत मात्र फेरिएन; आम्दानीको स्रोतसमेत बनेको छ । कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको सो वनका अहिले पनि अध्यक्ष रहेका तामाङले पहिलाको अवस्थामा अहिले वनको अवस्था निकै राम्रो भएको बताए । उनले भने, ‘छोड्ने प्रयास धेरै पटक गरेँ तर मैले गरेको काम र मैलेजस्तो नेतृत्व लिने अर्को नभएपछि मलाई नै उपभोक्ताले अध्यक्षमै निरन्तरता दिएका छन् ।’
सामुदायिक वनको २४ वर्षे कार्यकालमा अध्यक्षको भूमिकामा रही वन संरक्षण र व्यवस्थापनमा काम गर्दा आफूले धेरै खप्की र धम्की झेल्नु परेको अनुभव तामाङसँग छ । अध्यक्ष तामाङले भने, ‘पहाडबाट बसाइँ सरेर आउनेहरू जङ्गलको किनारमा थोरै जग्गा लिने अनि अतिक्रमण गरेर जग्गा बढाउँदै जाने समस्या अझै पनि छ । प्रहरी, वन कर्मचारीसँग हारगुहार गर्दै अतिक्रमण रोक्ने प्रयास ग-यौँ ।’
६३ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिवेणी सामुदायिक वनमा अहिले २१३ जना उपभोक्ता छन् । उपभोक्तालाई घाँसदाउराका लागि वर्षमा एक पटक पुर्जी कटाई घाँसदाउराका लागि वन खोलिन्छ । अध्यक्ष तामाङले भने, ‘यो वर्ष भर्खरै खोलेका छौँ । झाडी सफाइ गर्ने, ढलेका, सुकेका दाउरा निकासी समूहगत रूपमा गर्छौं ।’
घोडाघोडी नगरपालिकामा महिलाले नेतृत्व गरेका तीनवटा सामुदायिक वन छन् । टेग्नुवा महिला सामुदायिक वनका अध्यक्ष मैना ढकालले आफ्नो वनमा ११० जना उपभोक्ता सबै महिला रहेको बताए । ४२ हेक्टर क्षेत्रफलमा रहेको विश्व सिमसार क्षेत्र घोडाघोडीसँग जोडिएको टेग्नुवा सामुदायिक वनको वरपर मानव बस्ती छ । तीनै बस्तीका मान्छे नै उपभोक्ता छन् ।
‘सानो क्षेत्रफल भएको वन चारैतिर बस्ती संरक्षणमा निकै चुनौती छ तर पनि वन हेरालु राखेर, आफैँ घुमेर वनको संरक्षण गर्दै आएका छौँ,’ अध्यक्ष ढकालले भने । २०६१ सालदेखि निरन्तर अध्यक्ष रहँदै आएका ढकालले आफूले नेतृत्व लिएपछि अतिक्रमण क्षेत्रमा तारबार गर्नुका साथै वृक्षरोपण गरेर वनको हैसियत राम्रो बनाएको बताए ।
डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले महिलाले नेतृत्व गरेको सामुदायिक वन व्यवस्थापन पुरुषको भन्दा राम्रो भएको बताए । उनले संरक्षणको पाटोमा महिला इमानदारीपूर्वक भूमिका निर्वाह गर्नुका साथै सुशासनमा समेत पारदर्शी भएको बताए ।




