
टीकापुर, असार १५
सुदूरपश्चिम प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । प्रदेशमा धानखेती हुने १ लाख ७६ हजार १ शय ५१ हेक्टर जमिन मध्ये ४५ प्रतिशत धान रोपाइँ सकिएको हो । सुदूरपश्चिम प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय दिपायलका अनुसार असार मध्येसम्ममा ८० हजार १ शय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
निर्देशनालयका सूचना अधिकारी केशवराज पाण्डेयले दिएको जानकारी अनुसार सबैभन्दा बढी बझाङ्गमा ७० प्रतिशत रोपाइँ सकिएको छ भने सबैभन्दा कम दार्चुलामा ३१ प्रतिशत रोपाइँ सकिएको छ ।
सुदूरपश्चिमको अन्न भण्डारको रुपमा मानिने कैलाली र कञ्चनपुरमा भने क्रमशः ४० र ४२ प्रतिशत रोपाइँ सकिएको छ । यो वर्षको मनसुन समय भन्दा अगावै नेपाल भित्रिएको भए पनि पर्याप्त मात्रामा वर्षा हुन नसक्दा अधिकांश भूभागमा रोपाइँ हुन सकेको छैन । गत वर्षको यही अवधिमा सुदूरपश्चिममा ५४.२५ प्रतिशत अर्थात् ९४ हजार ६ शय ९९ हेक्टर जमिनमा रोपाइँ सकिएको थियो ।
‘कतिपय पहाडी जिल्लामा वर्षा राम्रो भएकाले रोपाइँ बढी भएको छ भने कतिपय जिल्लामा पर्याप्त वर्षा नहुँदा रोपाइँ राम्रो कम भएको छ’ सूचना अधिकारी पाण्डेयले भने ‘तराईका जिल्लामा सिँचाइ सुविधा नभएका ठाउँमा पम्पसेटको पानीबाट रोपाइँ भइरहेको छ ।’
सुदूरपश्चिमका पहाडी जिल्लामा जेठ पहिलो सातादेखि नै रोपाइँ शुरु हुन्छ भने तराईका जिल्लामा असार पहिलो सातादेखि धान रोपाइँ सुरु भएको हो । सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सकिन लागेको छ भने केही दिनयता मनसुनी वर्षा भएपछि प्रदेशका सबै क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ ।
मनसुनी वर्षा विगतका वर्षहरु भन्दा १५ दिन अगावै शुरु हुने मौसम विज्ञान विभागको पूर्वानुमानका कारण समेत कैलालीका किसानले जेठ पहिलो साता नै धानको ब्याड राखेका थिए ।
‘सिँचाइ सुविधा भएको कैलालीको दक्षिणपूर्वी क्षेत्रमा असार पहिलो सातादेखि नै धमाधम रोपाइँ सुरु भइसकेको छ’ कृषि ज्ञान केन्द्र कैलालीका कृषि प्रसार अधिकृत रामनारायण चौधरीले भने ‘तर मौसम विभागको पूर्वानुमानअनुसार वर्षा शुरु भएर रोकिएका कारण केही ठाउँमा ढिलो गरी रोपाइँ शुरु भएको हो ।’
चौधरीका अनुसार यतिबेला मनसुनी वर्षा सुरु भइसकेकाले जिल्लाको बाँकी भागमा समेत धमाधम रोपाइँ भइरहेको छ । पछिल्ला वर्षहरुमा धानबाली लगाउने किसानहरु मौसम पूर्वानुमान अनुसार बाली लगाउने गर्दै आएका छन् । उनीहरु स्थानीय तहका कृषि विकास शाखा र ज्ञान केन्द्रबाट मनसुनी वर्षाबारे जानकारी लिएर रोपाइँको तयारी गर्छन् ।
‘ज्ञान केन्द्रले विभिन्न समयमा दिएका तालिमपछि हामी मौसम विभागले जारी गरेको मौसम पूर्वानुमान अुनसार धानको ब्याड राख्ने गरेका छौं’ जोशीपुर गाउँपालिका वडा नं. ४ का किसान रमेश चौधरीले भने ‘यो वर्ष पनि शुरुमा वर्षा भए पनि असार दोश्रो सातासम्म पर्याप्त वर्षा हुन नसक्दा रोपाइँ केही ढिलो शुरु भएको हो ।’
कैलालीमा सञ्चालित राष्ट्रिय गौरबको रानी, जमरा र कुलरिया सिँचाइ आयोजनाको नहरबाट सिञ्चित हुने क्षेत्र तथा पम्पसेटको सिँचाइ सुविधा भएका टीकापुर, जानकी, जोशीपुर, भजनी, गौरीगंगा र घोडाघोडी क्षेत्रमा असार पहिलो सातादेखि नै रोपाइँ शुरु भएको हो भने अन्य भागमा यतिबेला धमाधम रोपाइँ भइरहेको छ ।
कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक अनुसार जिल्लामा ६८ हजार ५ शय ४१ हेक्टरमा धान खेती हुँदै आएको छ । जिल्लामा ९८ हजार ९ शय ३५ हेक्टर खेतीयोग्य जमिन रहेको छ । जुन जिल्लाको कुल क्षेत्रफलको २७ दशमलव ८ प्रतिशत हो ।
खेतीयोग्य जमिनमध्ये हाल २६ दशमलव ७ प्रतिशत अर्थात् ८६ हजार ४५० हेक्टरमा मात्र खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । जसमध्ये नहर, पम्पसेट र परम्परागत कुलोबाट ७० हजार ५ शय हेक्टर जमिन सिञ्चित क्षेत्र रहेको छ ।