नेपालमा २०८२ भदौ २३ र २४ मा भएको जेन–जि आन्दोलन र ७६ सहिदको आत्माको प्रश्न नेपाल फेरि एउटा मोडमा उभिएको छ । जहाँ युवाहरूले देशको न्याय, समानता र सुशासनका लागि सडक तताएका छन्, र सत्ता फेरि पनि सुनिनुको सट्टा मौन छ । “जेन–जि आन्दोलन” केवल आन्दोलन होइन, यो त नयाँ पुस्ताको जागरण हो । एक पुस्ता जसले देख्यो कि उनका बुबा–आमाले गणतन्त्र ल्याए, तर न्याय र सुशासन भने खोई ? त्यसैले उनीहरूले सडकमै नारा लगाए । “सिंहदरबार जनता कै हो, सर्वोच्च अदालत न्यायकै हो ” तर देशले दुःखद समाचार सुनेको छ, देखेको छ ।
आन्दोलनको पहिलो दिन २३ गतेको देशै भरी १९ जनाको ज्यान गर्यो र सयौं घाईते भए, भोली पल्ट अर्थात २४ गते आक्रोशित आन्दोलनकारी, मृतकका आफन्त, नातेदार, साथीभाईहरुका साथै देशै जुरुक्क उठ्यो र जेन–जी आन्दोलनमा होमियो । आन्दोलनकारीको बुझाई पुराना नेताबाट देश चल्दैन नेपाल र नेपालीको भविष्य अब युवापुष्ताले लेख्ने । तर दुर्भाग्य आर्कोशित भिडले देशको प्रशासनिक भवन र न्यायपालिका सर्वोच्च अदालत सहित देश भरिका अधिकांश सरकारी भवनहरुमा आगजनी तथा क्षती पुर्याउने काम भयो । देश नै रणभूमीमा परिणत भयो । आन्दोलनका क्रममा ७६ जना सहिद, हजारौको संख्यामा यूवाहरु घाईते भए । मृत्यु हुनेमा अधिकांस स्कुल, कलेज ड्रिसमा विद्यार्थी थिए । सहिद हुने संख्या केवल अंक होइन, त्यो हो सपना, आवाज र भविष्य, जसलाई गोली, अश्रुग्यास र राज्यको मौनताले थामिदियो ।
सिंहदरबार र न्यायालयमा लागेको आगो जब सिंहदरबार जल्दै थियो, त्यो केवल इट्टा, ढुङ्गाको भवन जलेको थिएन, त्यहा संग–संगै जनताको विश्वास जल्दै थियो, युवाको आशा र देशप्रतिको माया समेत जल्दै थियो । नेताहरुको अकर्मण्ता र सत्ता प्राप्ति र पद लिप्साले गर्दा जलेको भवनसंगै भवन भित्रको जनसेवा जलाइदिएको छ । जनताको नारा सुनिनु साटो, त्यहाँ “सत्ताको सौदा” सुनिन्थ्यो । र जब सर्वोच्च अदालत जल्दै थियो न्यायको मृत्यु वरण गर्दै थियो । न्याय त्यो होइन जुन कागजमा लेखिन्छ, तर त्यो न्याय जुन आम नागरिकको जीवनमा महसुस हुनुपर्छ ।
आज त्यो न्यायलय धुवाँमा हराएको छ, जब अदालतमा पनि “सत्य भन्दा बलियो सम्बन्ध र पैसा” बोल्न थाल्छ तब संसारको कुनै ताकत, पावरले जनताको आक्रोशलाई थाम्न सक्दैन यो कुरा सत्य सावित भएको छ । एका तर्फ देशकै प्रशासनिक भवन र न्यायलय जल्दा र अर्को तर्फ आन्दोलनमा ७२ जनाको मृत्युले मन नै छिन्न भिन्न भएको छ । तिन दिनसम्म “सिंहदरबार जल्दा मन जल्यो, सर्वोच्च अदालत जल्दा न्याय ।” जेन–जि आन्दोलनः देशमा नयाँ चेतना जेन–जि आन्दोलनले एउटा कुरा प्रष्ट पारेको छ । देशलाई पुराना सोच र पुराना अनुहारहरूले अघि बढाउन सक्दैनन् । अब युवाहरूले चाहेको छ ।
-    जवाफदेही नेतृत्व,
-    निष्पक्ष न्याय,
-    भ्रष्टाचारमुक्त व्यवस्था ।
-    पारदर्शिता
यी मागहरू कुनै अतिरञ्जना होइनन्, यी त संविधानकै वाचा हुन् । तर राज्यले सुनेकोे भएता पनि उपलब्धतामा कमी भईरहेका थियो र जनतालाई आफ्नो कुरा नसुनिएको भान भएको थियो र आन्दोलनको तयारी र घोषणा भएकोमा समेत राज्यले जेन जी पुस्ताहरूलाई “अराजक” बच्चा केही नजान्ने अरुको अस्काहटमा लाग्ने भनेर खिसिटिउरी गर्ने कार्यभएको थियो । जेन–जी आन्दोलनलाई दमन तथा थिचिरहेको थियो । तर युवाहरू डराएनन् । आन्दोलन भएकोे करिब २६ घण्टामा नै सरकार घुडा टेक्न बाध्य भयो र हाल देशमा जेन–जि को सिफारिसमा नयाँ सरकार गठन भएको छ । ७६ सहिदको रगतले अब देशको माटोमा परिवर्तनको बीउ रोपिसकेको छ ।
जेन–जी आन्दोलनले दिएको सामाजिक सन्देश : अब समय आएको छ । देशको हरेक नागरिकले सोच्नुपर्छ, सिंहदरबारलाई सत्ता होइन, सेवा बनाउने । सर्वोच्च अदालतलाई भवन होइन, भरोसा बनाउने । न्याय र शासनलाई कागज होइन, व्यवहारमा उतार्ने । ७६ सहिदहरूको रगतले माग गरेको कुरा केवल सम्झना होइन । त्यो हो चेतना र जबसम्म त्यो चेतना ज्वलन्त रहन्छ, त्यतिबेला सम्म यो देश फेरि उठ्नेछ ।
“सिंहदरबार जल्दा मन जल्यो, सर्वोच्च अदालत जल्दा न्याय ।” यो वाक्य आजको नेपालको दर्पण हो । जहाँ जनता जलिरहेका छन्, र न्याय धुवाँमा हराएको छ तर त्यो आगो निभाउन सक्ने शक्ति अब पुराना नेताहरूमा होइन, जेन–जि पुस्ताको हातमा छ । त्यो पुस्ता, जसले सपना देख्न मात्र होइन, सपना साकार पार्न पनि सक्ने साहस राख्दछ ।
टीकापुर १, कैलाली

 
