
टीकापुर, साउन १
कैलालीको टीकापुर नगरपालिका वडा नं. १ का २० वर्षीय अरुण लोहार विश्व प्रसिद्ध मानिने अमेरिकास्थित राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) को एक परियोजनामा नेभिगेटरका रुपमा छनौट भएका छन् ।
नासा स्पेस एप च्यालेञ्ज २०२५ मा अन्तरिक्षका बारेमा विश्वभरबाट अनुसन्धान गरिरहेका वैज्ञानिक, विद्यार्थी, इन्नोभेटर्स, प्रोग्रामर्सहरुलाई अनलाइनका माध्यमबाट मेन्टर र गाइड गर्ने नेभिगेटरका रुपमा अरुण छनौट भएका हुन् ।
केही समयबाटै शुरु हुने परियोजनामा छनौट हुने उनी सम्भवतः पहिलो नेपाली युवा हुन् । ‘परियोजनामा प्रस्तुत गरिएका प्रोजेक्टलाई मेन्टर र गाइड गरेपछि प्रोजेक्टको मूल्याङ्कन समेत गर्ने जिम्मेवारीका साथ मलाई नासाले छनौट गरेको हो’ खगोल विज्ञान सम्बन्धी स्वअध्ययन गरिरहेका अरुणले भने ‘म विगत चार वर्षदेखि नै नासामा विभिन्न रुपमा आबद्ध हुँदै आएको थिएँ, यस वर्ष पहिलो पटकमै नेभिगेटर छनौट हुँदा निकै खुशी लागेको छ ।’
कलिलो उमेरमै विश्व प्रसिद्ध मानिने नासाको परियोजनामा छनौट भएपछि उनको चर्चा चुलिएको छ । सामाजिक सञ्जाल फेसबुक, एक्स आदिमा उनले बधाई थाप्न भ्याई नभ्याई छ । नेपालमा ठूलो नेटवर्क भएको पेज रुटिन अफ नेपाल बन्दले समेत उनी नासामा आबद्ध भएकोमा बधाई दिँदै पोष्ट गरेपछि उनको थप चर्चा चुलिएको हो ।
को हुन् अरुण लोहार ?
टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयबाट कक्षा १२ सम्म सिभिल इञ्जिनियरिङ्गतर्फ ओभरसियर अध्ययन गरेका अरुण गजल, मुक्तक जस्ता साहित्यिक विधामा कलम चलाउँदै आएका अलख निरञ्जन लोहारका छोरा हुन् । अरुणका हजुर बुबा पदमसिंह लोहारले टीकापुरको वीरेन्द्र विद्या मन्दिरसहित ४० वर्ष भन्दा बढी शिक्षणमै बिताए । अरुणका बुवा र आमा हाल कामको शिलशिलामा भारतको राजकोटमा छन् ।
सामान्य परिवार जन्मिएका अरुण सानैदेखि खगोल विज्ञानका बारेमा चासो राख्थे । ‘रातिको समयमा घरको आँगनमा त्रिपाल ओछ्याएर आकाशतर्फ हेर्दा सौर्यमण्डल, तारा र ग्रहहरुका बारेमा चासो लाग्न थालेको हो’ अरुणले भने ‘ओभरसियर पढे पनि मेरो सपना खगोल विज्ञानमा केन्द्रित थियो, अहिले मेरो सपनाको ढोकामा पुगेको छु, यसबारे धेरै कुरा जान्न, बुझ्न र बुझाउन बाँकी नै छ ।’
तीन वर्षअघि नै अध्ययन सकेका अरुणले त्यसयता खगोल विज्ञान सम्बन्धी अन्तर्राष्टिय विश्वविद्यालयहरुमा स्वअध्ययन गरिरहेका छन् ।
नासाको इन्टरनेशनल अब्जर्भ द मुननाइट परियोजनाबाट चार वर्षदेखि सिटिजन साइन्टिस्ट रुपमा काम गर्दै आएका उनी दोश्रो वर्ष परियोजनाको सहभागीका रुपमा नासा स्पेस च्यालेञ्ज परियोजनामा सहभागी भए ।
गतवर्ष सोही परियोजनाको लोकल होस्टका रुपमा छनौट हुँदै अरुणले टीकापुरमा सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । परियोजनाले विश्वभरिका मुख्य समस्याहरु ग्लोबल वार्मिङ्ग, स्पेश, एआई सम्बन्धी समस्याहरुका समाधान खोज्दै आएको छ ।
विगत तीन वर्षदेखि खगोल विज्ञानका बारेमा सचेतना कक्षा सञ्चालन गर्दै आएका अरुणले टेस्ला साइन्स सेन्टर स्थापना गरेका छन् । ‘एउटा विभिन्न विद्यालयहरुमा गएर विद्यार्थीलाई खगोल विज्ञानका बारेमा साक्षरता कक्षा सञ्चालन गर्ने र अर्को हामीसँग भएको टेलिस्कोपद्धारा आकाशीय पिण्डहरुको अवलोकन गराउने काम गर्दै आइरहेका छु’ अरुणले भने ‘यो तीन वर्षमा सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका झण्डै ७० हजार विद्यार्थीलाई यसबारे जानकारी दिइसकेका छौं ।’
टेस्ला साइन्स सेन्टरमार्फत् अरुणले साइन्स र टेक्नोलोजीको उपयुक्त कक्षाहरु विद्यालयस्तरमै गएर सञ्चालन गर्ने योजना बनाएका छन् । ‘विद्यालयमै गएर विद्यार्थीलाई साइन्स र टेक्नोलोजीका बारेमा कक्षाहरु सञ्चालन गर्ने गरी काम अगाडि बढाएका छौं’ अरुणले भने ‘नेशनल युथ साइन्स इनिसियटिभ परियोजनामार्फत् यो कक्षा सञ्चालनका लागि अस्टे्रलियाको युनिभर्सिटी अफ सिड्नीका प्राध्यापकहरुले सहयोग गर्ने भएका छन् ।’
टीकापुरमै बसेर निकट भविष्यमा साइन्टिस्ट, इन्नोभेटर, प्रोग्रामरहरु उत्पादन गर्ने लक्ष्य लिएका अरुणले नासाको परियोजना भोलेण्टियर परियोजना रहेको बताए । ‘यो भोलेण्टियर परियोजना हो, यसले मलाई अनुभव बटुल्न, विश्वभरिका थुप्रै वैज्ञानिक, अनुसन्धानकर्ताहरुसँग सोझै सम्बन्ध बनाउन मद्दत पुग्छ’ अरुणले भने ‘नासा जस्ता अरु थुपै्र संघ संस्थाहरुसँग थप सहकार्य गर्न मद्दत पुग्नेछ ।’
नासाको परियोजनामा मेन्टरका रुपमा छनौट हुनु आफैमा चुनौतिपूर्ण कार्य रहेको बताउँदै उनले निरन्तरको मेहनत, परिश्रम, समय, सेवाभावले गर्दा तीन वर्षमै यो अवसर आएको बताए । ‘यो खबरले मेरो बुबाको खुशीको सीमा नै छैन’ केहीबेर भावुक बनेका उनले भने ‘कक्षा १२ पास गरेपछि अरुका छोराछोरी पढिरहेका, विदेश गएका, हरेक सेमेस्टरमा पास भएको हेर्दा बुबालाई लाग्थ्यो होला, मेरो छोराले के गरिरहेको छ ? भनेर तर नासामा छनौट भएपछि भने उहाँ एकदमै खुशी हुनुहुन्छ ।’
भारतमा बसेर समेत अरुणका बुवा अलख निरञ्जन लोहार नेपालका तीनवटा रेडियोमा साहित्यिक कार्यक्रम चलाउँदै आएका छन् । ‘मेरो प्रेरणाको श्रोत नै बुवा हुन्’ अरुणले भने ‘कामको खोजीमा भारत गएर पनि बुबाले रेडियो कर्म, साहित्य कर्म छोड्नु भएन, निरन्तर गरिरहनु भएको छ, उहाँको कामप्रतिको लगावबाट म प्रेरित भएको हुँ ।’
खगोल विज्ञानमा स्वअध्ययन गरिरहेका अरुणलाई काठमाडौं लगायतका शहरबाट अफरहरु आएका भए पनि उनले टीकापुर क्षेत्र नछोड्ने जिकिर गर्दै आएका छन् । ‘काठमाडौंबाटै हरेक हप्तामा नयाँ नयाँ अफरहरु आइरहेका छन् तर पनि यहाँका विद्यालयमा पुगेर ती बच्चाहरु अवस्था हेर्दा मलाई अन्त जान मन लागेको छैन’ अरुणले आफ्नो योजना सुनाउँदै भने ‘हामीलाई साइन्स अध्ययन भनेपछि सिभिल इञ्जिनियरिङ्ग वा मेडिकल साइन्स बाहेक अरु कक्षाको बारेमा थाहा नै छैन, यहाँका विद्यार्थी काठमाडौंको तुलनामा निकै कमजोर छन्, यही विषयमा चेतना जगाउन म काम गरिरहेको छु ।’
खगोल विज्ञानबारे सचेतना फैलाउँदै जीविकोपार्जन गर्ने योजना बनाइरहेका उनलाई कुनै निकायबाट सहयोग भएको छैन । ‘मैले नगरपालिकामा प्रस्ताव नै पेश गरेको थिएँ, तर पनि कुनै सहयोग प्राप्त भएन’ अरुणले भने ‘भोलेन्टियर रुपमा काम गरिरहेकाले व्यक्तिगत सहयोग थोरै हुने गरे पनि संस्थागत सहयोगको आवश्यकता छ ।’
हरेक विद्यार्थीलाई खगोल विज्ञान सम्बन्धी सचेतना फैलाउने उद्देश्य लिएका अरुणले सबैको साथ सहयोग पाए टीकापुरबाटै एआई, साइन्ट र टेक्नोलोजीका विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएका छन् ।