टीकापुर, कात्तिक ११
टीकापुर अस्पतालको प्रयोगशाला (ल्याब) मा म्याद नाघेको रिएजेन्ट तथा औषधी फेला परेको छ । टीकापुर नगरपालिकाले गरेको आकस्मिक अनुगमनका क्रममा अस्पतालको प्रयोगशाला र दन्त सेवा विभागमा म्याद नाघेको रिएजेन्ट र औषधी फेला परेको हो ।
‘अस्पतालको प्रयोगशालामा २४ वटा रिएजेन्ट तथा दन्त सेवा विभागमा १३ वटा औषधी म्याद नाघेका औषधी फेला परेका छन्’ टीकापुर नगरपालिकाको उपभोक्ता हित संरक्षण उपशाखामा कार्यरत अधिकृत रञ्जु आचार्यले भने ‘प्रादेशिक अस्पताल भएकाले अहिले मुचुल्का उठाएर सबै सागग्री अस्पतालमै छोडेका छौं, आवश्यक कारवाहीका लागि प्रदेशका सम्बन्धित निकायलाई पठाउने छौं ।’
टीकापुर अस्पतालको प्रयोगशाला विभागका प्रमुख ल्याब टेक्नोलोजिष्ट पवन पोखरेलले केही मेशिनहरु बिग्रिएकाले प्रयोग हुन नसकेका र केही मेशिन सरसफाई का लागि प्रगोग हुने भएकाले म्याद नाघेका रिएजेन्ट राखिएको दाबी गरे ।
दन्तरोग विशेषज्ञ डाक्टर आभा चपाईले म्याद नाघेका सामग्रीहरु भेटिए पनि अधिकांश औषधी प्रयोगमा नभएको दाबी गरिन् । अनुगमनका क्रममा म्याद नाघेका सामग्रीहरु प्रयोगमा रहेका, फ्रिजमा रहेका र स्टोरमा रहेको फेला पारेको अनुगमनकर्ताले बताएका छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले प्रयोगशालामा समस्या रहेको बताए । ‘प्रयोगशालामा गम्भीर समस्या देखियो’ अध्यक्ष भण्डारीले सञ्चारकर्मीसँग भने ‘अब प्रमुख मेडिकल सुपरिटेण्डेण्ट आएपछि थप छलफल गर्छौं, आवश्यक अध्ययन गरेर कारवाही प्रक्रिया अगाडि बढाउँछौं ।’
अस्पतालको प्रयोगशालामा यसअघि समेत रिपोर्टहरु गलत आउने गरेको ब्यापक जनगुनासो आउने गरेको थियो ।





