टीकापुर, मंसिर ६
मालपोत कार्यालयबाट सम्पादन हुँदै आएको भूमि प्रशासन सम्बन्धी काम स्थानीय पालिकाबाटै हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमि प्रशासन कार्यालय टीकापुर कैलालीले कैलालीका सात वटा पालिकालाई एक महिनाभित्र सेवा सुचारु गर्न भन्दै पत्राचार गरेपछि कैलालीका सातवटै पालिकाबाट भूमि प्रशासनको काम हुने भएको हो ।
कार्यालयले जोशीपुर, जानकी, बर्दगोरिया, मोहन्याल गाउँपालिका तथा टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकालाई एक महिनाभित्र भूमि प्रशासन सेवा सुचारु गर्न पत्राचार गरेको हो ।
मंसिर ४ गते चलानी नं. १९५१ को पत्रमा मन्त्रालयको निर्देशन बमोजिम कार्य क्षेत्रभित्र पर्ने स्थानीय तहलाई अनिवार्य रुपमा भूमि प्रशासन सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था गर्न भनिएको छ ।
कार्यालयले आवश्यक समन्वय र सहजीकरणका लागि कार्यालयका नायब सुब्बा प्रेमप्रकाश सिंहलाई फोकल पर्सन तोकेको छ । स्थानीय पालिकाबाट नागरिकलाई सहज रुपमा भूमि प्रशासन सेवा दिने उद्देश्यले स्थानीय तहमा भूमि प्रशासन इकाई राखिनेछ ।






