 
                                                                    सीताराम ओझा
धनगढी, जेठ १७ 
यही जेठ १८ गतेदेखि २८ गतेसम्म कैलालीको अत्तरीयामा आयोजना हुने गोदावरी राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
पिएफए अत्तरियाको आयोजनामा पहिलो पटक हुन लागेको फुटबल प्रतियोगिताको तयारी सकिएको हो ।
वनदेवी युवा क्लवको खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा १० टीमको सहभागीता रहने बताइएको छ । उनीहरुलाई चार समुहमा विभाजन गरेर खेल तालिका बनाईएको छ ।
आयोजक पिएफए अत्तरिया, गौरीगंगा स्पोर्टस मसुरीया, नेपालगंञ्ज स्पोर्टस क्लब नेपालगंज, सुदुरपश्चिम–११ स्पोर्टस क्लब र मनकामना युवा क्लब जुगेडा, घोडाघोडी युवा क्लब सुख्खड, सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमी पुर्नवास, वी वाईसी युवा क्लब तेघरी, माउण्ट एभरेष्ट युवा क्लब अत्तरिया, फारवेष्ट पशुपति युवा क्लब धनगढी रहेका छन् ।
शनिवार हुने उद्घाटन खेलमा आयोजक पिएफए अत्तरिया र गौरीगंगा–११ स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
जेठ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख तथा उप विजेताले दुई लाख नगद सहित ट्रफी, मेडल तथा प्रमाण पत्र पुरस्कार पाउने पिएफए अत्तरियाका अध्यक्ष योगेश भट्टले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार पाउने छन । उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सार्वाधीक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको प्रत्येक खेलको म्यान अफ दी म्याच खेलाडीलाई तीन हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भट्टराईले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशलाई फुटबलको सहर भनि देशव्यापी रुपमा परिचित गराउने, यस क्षेत्रका युवाहरुलाई फुटबल खेलतिर उत्प्रेरित गराउने, यूवाहरुलाई दुर्व्यसनीबाट जोगाउने, यहाँका अभिभावकलाई खेलतिर प्रोत्साहन गर्ने उद्देश्य राखेका छौं प्रतियोगितका संयोजक भट्टराईले भने– फुटबल खेललाई व्यवसायीक बनाउन मद्दत गर्ने र यस क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने आश राखेका छौं, उनले भने ।
प्रतियोगिता आयोजना गर्न गईरहेको क्लबले विगतका दिनहरुमा नेपाल र भारतमा हुने विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा सहभागि हुने गरेको र क्लवले आफ्नो फुटबल प्रशिक्षक राखि प्रशिक्षण गराइरहेको आयोजकले जनाएको छ ।

 
 

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    