टीकापुर, मंसिर २
कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आजदेखि टीकापुरमा सुटिङको प्रदेशस्तरीय छनौट शुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी र बैतडीका ३० जना खेलाडीहरुको सहभागितामा छनौट शुरु भएको हो ।
सुदूरपश्चिमको एकमात्र सुटिङ रेञ्ज रहेको खड्ग स्मृति रंगशालामा १० मिटर रेञ्जको एयर राइफल र एयर पेस्तोल विधामा खेलाडीहरु सहभागी छन् ।
भोलिसम्म सञ्चालन हुने छनौट प्रतियोगिताबाट राइफलमा तीन महिला तीन पुरुष र पेस्तोलमा तीन महिला तीन पुरुष छनौट हुने नेपाल सुटिङ संघ कैलालीका व्यवस्थापक गोविन्द कोइरालाले बताए ।
संघका कैलाली अध्यक्ष दिलबहादुर ठकुल्लाको अध्यक्षतामा भएको छनौट प्रतियोगिताको उद्घाटन टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले गरेका हुन् ।





