Hamro Patra
जिल्लास्तरीय यु-१६ फुटबल प्रतियोगितामा युथ अफ टीकापुरको शानदार सुरुवात

टीकापुर, पौष १८
बद्री कुन्ता मेमोरियल यु-१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगितामा युथ अफ टीकापुरले शानदार सुरुवात गरेको छ ।

धनगढी रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा टीकापुरले कैलारी गाउँपालिकाको न्यू युवा सुन्दर शक्ती क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको हो ।

युथ अफ टीकापुरको जितमा नायक बनेका कैलाश सुनारले प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गर्ने क्रममा एक्लैले ४ गोल प्रहार गरे । कैलाश खेलको म्यान अफ दी म्याच पनि चुनिए ।

उनले पहिलो हाफको ३१ औं र ३३ औं मिनेटमा गरी दुई गोल गरे भने दोश्रो हाफको ५४ औं र ५५ औं मिनेटमा थप दुई गोल गर्दै व्यक्तिगत ४ गोल पूरा गरेका हुन । यस्तै टीकापुरकै लागि रोमन चौधरीले खेलको ७२ औं थप १ गोल गरे ।

न्यू युवा सुन्दर शक्ती क्लबका लागि आदर्श चौधरीले २ गोल गरेपनि जितका लागि पर्याप्त भएन । उनले पहिलो हाफको २५ औं मिनेटमै पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए तर त्यो अग्रता धेरैबेर टिक्न सकेन ।

दोश्रो हाफको तेश्रो मिनेट अर्थात खेलको ४८ औं मिनेटमा न्यू युवा सुन्दर शक्ती क्लबका लागि आदर्श चौधरीले व्यक्तिगत दोश्रो गोल गर्दै खेललाई पुनः बराबारीमा तुल्याए । त्यसपछि भने न्यू युवा सुन्दर शक्ती क्लबले गोल गर्न सकेन ।

खेलको ५४ औं मिनेटमा तेश्रो गोल गर्दै युथ अफ टीकापुरका कैलाश सुनारले ह्याट्कि पूरा गरे । थप एक गोल उनले एक मिनेटभित्रै अर्थात ५५ औं मिनेटमा गरे ।

कैलाली जिल्ला फुटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सम्पन्न हुने प्रतियोगितामा कैलाली जिल्ला फुटबल संघमा दर्ता भएका कैलाली जिल्लाका १३ ओटै स्थानीय तहका क्लबहरुको सहभागिता रहेको छ ।

लिगकम नकआउट फर्म्याटमा खेलाइएको यो प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगीताका निर्देशक हर्क दानपालीले जानकारी दिए ।

प्रतियोगिताको दोश्रो खेलमा शनिबार भजनी युवा क्लब भजनीका विरुद्ध संघर्ष युवा क्लब गोदावरी खेल्दैछ भने तेश्रो खेलमा  शनिबार नै बर्दगोरिया स्पोटर्स एण्ड इभेण्टसका विरुद्ध फारवेष्ट पशुपति युवा क्लबले प्रतिस्पर्धा गर्दैछ ।

यसअघि आजै कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लको अध्यक्षता तथा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव लोक बहादुर खड्काको प्रमुख आतिथ्यतामा प्रतियोगिताको समुद्घाटन गरिएको छ ।

उद्घाटन सत्रमा अखिल नेपाल फुटबल संघका महासचिव किरण राई,कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द,नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य बिक्रम बिष्ट,युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र साउँद, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी ओम राना, कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी, बद्री कुन्ता मेमोरियल ट्रष्टका अध्यक्ष कमला जोशी,संस्थापक सदस्य गोकर्ण जोशी,सुनिल सुवेदी लगायत दजनौं खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १८, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update