Hamro Patra
टीकापुर कराँतेका संस्थापक प्रशिक्षक झप्पर कुँवरको निधन

टीकापुर, भदौ २८
कैलालीको टीकापुरका संस्थापक कराँते प्रशिक्षक झप्पर कुँवरको ५६ वर्षको उमेरमा निधन भएको छ । 

टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १९ मा बसोबास गर्दै आएका कराँते प्रशिक्षक कुँवरको शनिवार नेपालगञ्जमा उपचारका क्रममा निधन भएको हो । 

भारतको मुम्बईमा कराँतेको प्रशिक्षण लिएर टीकापुर आएका कुँवरले २०४७ सालमा पहिलो पटक टीकापुरमा बुडोकन कराँतेको प्रशिक्षण शुरु गरेका थिए । सितेरियो कराँते नेपाल संघको टीकापुर शाखामार्फत् कुँवरले प्रशिक्षण शुरु गरेर टीकापुरमा सयौं खेलाडी उत्पादन गरेका थिए ।   

टीकापुरमा कराँते खेल भित्र्याउने प्रशिक्षक कुँवरको निधनले टीकापुरको खेल जगतमा अपूरणीय क्षति पुगेको कराँतेका प्रशिक्षक बबरजंग शाही बताउँछन् । 

‘टीकापुरमा कराँते खेल भित्र्याउने नै झप्पर गुरु हुन्, कराँतेका संस्थापक नै हुन्, उहाँले सयौं खेलाडीलाई प्रशिक्षण दिनु भएको हो’ शाहीले भने ‘उहाँकै प्रशिक्षणबाट हामीले शिक्षा पाएर अहिलेसम्म टीकापुरमा मैले, जोशीपुरमा बालकुमार महतौले प्रशिक्षणलाई निरन्तरता दिइरहेका छौं, यस्ता थुप्रै खेलाडीहरु छन् ।’

सुगर, प्रेसर तथा कलेजो सम्बन्धी समस्याबाट विगत चार वर्षदेखि प्रभावित हुँदै आएका कुँवरका दुई छोरा र श्रीमती छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update