Hamro Patra
विकास निर्माण आयोजनाको दिगोपनः हामी नागरिक कति जिम्मेवार ?

भर्खरै निर्माण सम्पन्न भई परीक्षणको रुपमा सञ्चालनमा आएको टीकापुर नगरपालिका, कैलाली र राजापुर नगरपालिका, बर्दिया जोड्ने दौलतपुरघाट मल्टि स्पान झोलुङ्गे पुल केवल पुल मात्र होइन यो त दुई भूगोल, दुई समुदाय र असङ्ख्य सम्भावनालाई जीवन्त बनाउने, टीकापुर र राजापुरका स्थानीयले देखेको वर्षौंदेखिको सपना हो, यसले स्थानियको आधारभूत सेवामा पहुँच विस्तारको लागी ठुलो योगदान दिने निश्चित त छ नै तर केही दिनदेखि पुलमा अनावश्यक भिडभाडका तस्बिरहरू सामाजिक सञ्जाल भरी छाई नै रहे।

केही दिनयता बिभिन्न मिडिया तथा सामाजिक सञ्जालमा यो पुलसम्बन्धी देखिएका सामाग्रीहरुले सोच्न बाध्य बनायो र १९ वर्ष पहिलेको एक कहालिलाग्दो Structure failure र यसले निम्त्याएको दुर्घटनाको याद दिलायो। २०६४ सालको हिउँदयाम, गुर्भाकोट र नजिकका गाउँहरूको मुख्य चाड, शुभ घाट मेला। गाउँलेहरू बडो उमङ्गका साथ मानिसहरू सपरिवार मेला भर्न आएका थिए। आफन्त भेटघाट, सङ्गी साथीभाइका जमघट, मेलाको उत्साह, त्यहाँ छुट्टै उमङ्गको माहोल थियो। तर कसैले पनि कल्पना गरेको थिएन कि त्यो खुसी केही छिनपछी सदाका लागी भेरी नदीको कठ्याङ्ग्रिदो पानीमा विलय हुनेछ भनेर।

इञ्जिनियरिङ्ग दृष्टिकोणबाट हेर्दा, पुलमा तोकिएको क्षमता भन्दा बढी मानिसहरू एकपटक चढ्नु वा ठुलो समूहमा हिँड्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। यसले पुलमा अत्यधिक भार (Overloading) सिर्जना गरी संरचनामा अतिरिक्त तनाव उत्पन्न गर्छ। भारवहन क्षमताभन्दा धेरै मानिसहरू एकै पटक हिँड्दा पुलमा Vibration र Resonance बढ्न सक्छ र पुल अत्यधिक हल्लिन सक्छ, जसले संरचनात्मक क्षति वा दुर्घटनाको सम्भावना बढाउँछ।

घटना थियो २०६४ पुष महिनाको १० गते दिउसोको समय पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुनामा भेरी नदीको किनारमा एक भव्य परम्परागत स्थानीय मेला लागिरहेको थियो, शुभ घाट पूर्णिमाको मेला। मेलाको रमाइलोसँगै त्यही स्थानमा मेहलकुना र दह चौरलाई जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुलमा पनि दर्शनार्थीहरूको ठूलो भीड जम्मा हुन थाल्यो, सैयौँ मानिसहरू एकैपटक झोलुङ्गे पुलमाथि जम्मा भए, कोही पुल पार गर्दै थिए। खुट्टा राख्ने ठाउँ पनि बाकी नहरहने गरी खचाखच मानिसहरूले भरिदै गयो।

केहि दिनमा पुल असामान्य लक्षणहरू देखाउन थाल्यो, तीब्र रूपले हल्लिन थाल्यो र अन्ततः दिउसोको पौने तिन बजे पुललाई थामेर उभिएको बलियो फलामे टावर एकैपल्ट गर्ल्यामगुर्लुम नदीतर्फ ढल्यो र निमेषभरमै पुल भेरी नदीमा चुर्लुम्म डुब्यो। हिड्दाहिड्दैका चार सय हाराहारीको संख्यामा मानिसहरू पुषमासको चिसो भेरी नदीको पानीमा खस्न पुगे। ५० भन्दा बढीको संख्यामा घाईते भए, २४ जनाले ज्यान गुमाए। क्षणभरमै मेलाको रौनक हृदयविदारक चित्कारमा रुपान्तरित भयो।

अब यसका केही प्राविधिक पाटाहरुको विष्लेशण गरौं, कुनैपनि संरचनाको निश्चित भारवहन क्षमता हुन्छ, हरेक पुलको डिजाईन सिमित मानिस वा सवारीसाधन वा निश्चित तौलका लागी मात्र डिजाईन गरिएको हुन्छ र यसको सुरक्षित प्रयोग पुलको डिजाइन क्षमता र सञ्चालन मापदण्डको पालनमा निर्भर हुन्छ। इञ्जिनियरिङ्ग दृष्टिकोणबाट हेर्दा, पुलमा तोकिएको क्षमता भन्दा बढी मानिसहरू एकपटक चढ्नु वा ठुलो समूहमा हिँड्नु अत्यन्त जोखिमपूर्ण हुन्छ। यसले पुलमा अत्यधिक भार (Overloading) सिर्जना गरी संरचनामा अतिरिक्त तनाव उत्पन्न गर्छ। भारवहन क्षमताभन्दा धेरै मानिसहरू एकै पटक हिँड्दा पुलमा Vibration र Resonance बढ्न सक्छ र पुल अत्यधिक हल्लिन सक्छ, जसले संरचनात्मक क्षति वा दुर्घटनाको सम्भावना बढाउँछ।

साथै, भीडभाडका कारण आकस्मिक अवस्थामा मानिसहरू सुरक्षित रूपमा बाहिर निस्कन कठिन हुन्छ र भागदौड हुँदा ठूलो मानवीय क्षति हुन सक्छ। माथि उल्लेख भएको भेरी पुल दुर्घटनाको कारण केवल प्राविधिक सिमितता मात्र थिएन, यो त भिड नियन्त्रण र सुरक्षा सतर्कताको चरम असफलता पनि थियो।

यसर्थ, यस प्रकारका दुर्घटना रोक्न पुलमा अधिकतम भार क्षमता स्पष्ट रूपमा उल्लेख गर्नुपर्छ, एकै पटक प्रवेश गर्ने मानिसको संख्या नियन्त्रण गर्नुपर्छ र सुरक्षा सतर्कता चुस्त हुनुपर्छ। नियमित प्राविधिक निरीक्षण, मर्मतसम्भार तथा पुलका तार, डेक र जडान भागहरूको परीक्षण पनि अनिवार्य हुनुपर्छ। पुलमा दौडिन, उफ्रिन वा अनावश्यक भीड गर्न नदिने व्यवस्था गर्नुपर्छ। इञ्जिनियरिङ मापदण्डको पालना र नागरीकको जिम्मेवार व्यवहारले मात्र झोलुङ्गे पुललाई सुरक्षित, भरपर्दो र दीर्घकालीन बनाउन सक्छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०८३  १४:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update