काठमाडौँको एउटा फलफूल पसलमा गत साता एक दर्जन केराको ३०० रुपैयाँ तिर्न बाध्य भएपछि मन खल्लो भयो। ‘किन यति साह्रो महँगो?’ प्रश्न भुइँमा खस्न नपाउँदै पसलेले जवाफ फर्काए, ‘इन्डियन आउन छाडेर, नेपालको केराले नपुगेर।’
३०० का १२ केरा, २५ रुपैयाँको एक कोसा केरा। उसको जवाफ पर्याप्त थियो, तर नेपालमा आजसम्मकै बढी पैसा तिर्न परेकामा मन कुटुक्क खाएको थियो। भारतबाट केरा कम आयात भइरहेका कारण स्थानीय बजारमा मूल्य बढेको भने पनि आफैँलाई थाहा थियो– नेपालमा उत्पादन हुने केरालाई ट्रोपिकल रेस-४ (टीआर-४) नामक ढुसी रोगको जोखिमबाट जोगाउनका लागि भारतबाट आयात हुने केराको आयातमा सरकार कठोर भएकाले यस्तो भएको हो।
महँगी र केराका अनेक तर्कनाका साथ केरा बोकेर हिँडियो। यिनै तर्कनामा नेपाली केरासँग अचानक याद आए, कैलाली टीकापुरका कालु हमाल दाइ अनि उनीकहाँ खाएको ‘यो पनि केराको परिकार, उ पनि केराको परिकार भएको भोजको।’ अर्थात् सितन पनि केरा, पिउने पनि केरा अनि भोजन पनि केरा। कालु दाइको विशेषता नै त्यही हो।

नेपालमा केरा प्रोत्साहनमा धेरै मान्छे लागेका छन्, तर किन हो कुन्नि, नेपाली केरा भन्नासाथ कालु दाइको नाम याद आइहाल्छ। केही वर्षअगाडि किशोर-किशोरीलाई सीपसँग जोड्ने एउटा कामको सिलसिलामा पुगिएको थियो टीकापुर। पत्रकार साथी योगेश रावलसँग टीकापुरमा उपलब्ध सीपहरूका बारेमा अनुसन्धानकर्ताहरूले ‘केआईआई’ वा ‘की इनफर्म्यानेट इन्टरभ्यु’ भन्ने जानकार र अनुभवी मानिसहरूसँग बातचित गर्ने क्रममा पुगिएको थियो कालु दाइकोमा।
साथी योगेशले खाजा खाने समय मिलाएर टीकापुरको मनिकापुरमा रहेको कालु दाइको ‘बनाना रिसोर्ट’ मा लगेका थिए, छलफल पनि होस् साथमा खाजा पनि होस् भनेर। सीपका बारेमा कालु दाइसँग कुरा भए। युवा पलायनका कुरा भए। युवालाई कसरी स्वरोजगार बनाउने भनेर कालु हमालको आफ्नो अवधारणा ‘एग्रो-टुरिजम’ वा कृषि पर्यटनका कुरा भए। कालु दाइको विचारमा हाम्रा दुई भीमकाय छिमेकीहरूलाई हामीले बेच्न सक्ने कुरा पर्यटन हो र पर्यटनमा किसान जोडियो भने गरिब किसानको पनि भलो हुन्छ, युवा पनि देशमा टिक्छन्। कालु दाइले त्यतिबेला भनेका थिए, ‘कसैलाई केरामा आधारित मेरो जस्तै रिसोर्ट वा रेस्टुरेन्ट खोल्न छ भने म निःशुल्क सिकाउन तयार छु, र सिकेका पनि छन्।’
हाम्रो कुराकानी सकियो। कालु दाइले इसारा गरेपछि आएको पहिलो परिकार केरा चिप्स थियो। आफूलाई चाहिँ खासै दम नलाग्ने परिकार। हाम्रातिर मान्छे मरेर आशौच बार्दा बाहुन-क्षेत्रीले बेलुका खाने भनेको त्यही काँचो केराको चिप्स त हो। नुन हालिँदैन अनि अदुवा डढाएर एक किसिमको नुनिलो स्वाद र सुगन्ध निकालिन्छ। घिउमा तारेको यो परिकार मिठो हुन्छ, तर कता कता आशौच बार्दाको समयसँग जोडिएकाले उत्सवका रूपमा खान चाहिँ मन मान्दैनथ्यो। तर, त्यहाँ पाहुनाका रूपमा गएकाले नाइँनास्ति गरिएन, चिप्स खाइयो, अद्भुत थियो स्वाद अनि मुखमा हाल्नासाथ कुरुमकुरुम हुने किसिमले तयार गरिएको थियो। नुन र मरमसला पनि गजबले मिलेको। पातलो गरेर काटेको काँचो केरामा मसला मिसाएर तेलमा तारेपछि तयार हुने र भण्डार गर्न सजिलो भएकाले पनि हामीलाई पहिला त्यही नै पस्किएको थियो होला।
कालु दाइको ‘बनाना रिसोर्ट’ मा ४० भन्दा बढी थरीका केराका परिकार बनाइन्छ। चितवनको प्रसिद्ध रामपुर कृषि क्याम्पसबाट २०३९ सालमा कृषि विज्ञान विषयमा स्नातक गरेका कालु दाइको मन जागिरमा लागेन। धनाढ्य जमिनदारका छोरा कालु दाइले सायद त्यतिबेला कृषि अधिकृतको तलब सुने होलान् अनि त्यतिमा त जिन्दगी चल्दैन भन्ने लाग्यो होला। उनले प्रत्यक्ष त्यसो त भनेनन्, तर ‘आफू बेइमानी गर्न नसक्ने, आएको तलबले बाँच्न नपुग्ने’ भएपछि व्यवसायमा लागेको बताएका थिए त्यतिबेला।
त्यसपछि हाम्रो टेबलमा आइपुग्यो केराको पकौडा। यो पकौडा चाहिँ काँचो केरा काटेर चनाको पिठो (बेसन)मा मिसाएर तारेर बनाइन्छ। तात्तातो पकौडा मुखमा पुगेर चुरुम्म भयो। मजा आयो। दाइले ‘केराको वाइन चाख्ने’ भनेर सोधे। पकौडा र वाइन गजब हुन्छ भन्ने लाग्यो र अर्डर गरियो।
त्यसपछिको पालो आयो केराको ममको। काँचो केराको बोक्रा ताछ्ने, कोरेँसोमा कोरेर त्यसको ‘किमा’ बनाउने अनि मसिनो काटेको प्याज, धनियाँको पात, हरियो खुर्सानीका टुक्रा, नुन, जिरा-धनियाँको धुलो, बेसार, अलिकति तेल, गरम मसाला, सोया सस, कुटेको अदुवा-लसुन हालेर मजाले मोल्ने। अनि त्यो ‘किमा’ लाई मम रोटीमा राखेर डल्लो बनाउने अनि मक्टु (मम पकाउने भाँडो)मा हालेर बफाउने। बस् तयार भयो केरा मम। स्वाद चाहिँ काठमाडौँतिर भेज मम खाँदा बन्दाको स्वादले सबै कुरा पेल्छ भने केराको मममा हल्का काँचो केराको सुगन्ध आउने रहेछ। चटनी चट्ट चोबेर खाँदा त्यही अनुभूति भयो। पछि थाहा भयो– जुन चटनीमा मम चोबेर खाइएको थियो, त्यो पनि केराबाटै बनेको रहेछ।
त्यही ममलाई तारेर दिँदा फ्राइड मम भइहाल्यो। खानेकुरा धमाधम आए। केराको टिकिया, केराकै चुकौनी, केराको परौठा, केराको समोसा, केरा सलाद, केराको खिर, केराको अचार के के हो के के। हामीले खाएको देखेर दाइ मुसुमुसु हाँस्दै थिए। हामी पनि नसोचेका केराका परिकार खादै दंग पर्दै थियौँ। त्यसबीचमा नै आयो हाम्रो परम्परागत परिकार केराको बुंगोको स्वादिलो अचार। हाम्रोमा केराको बुंगोको अचार पाचनका लागि फाइदाजनक मानिन्छ। तर, यसमा मिहिनेत चाहिँ धेरै लाग्छ। सबैभन्दा गाह्रो काम चाहिँ केराको बुंगोलाई सफा गर्ने र छोडाएर सानो टुक्रामा काट्ने काम नै हो। त्यो काम सकेपछि चाहिँ सजिलो छ। सबैभन्दा पहिला बुंगोको छाला जस्तो भाग फाल्ने र भित्रको गुदिलो भाग सानो टुक्रा काट्ने। थोरै नुन र बेसार हाली पाँचसात मिनेट उसिन्ने। त्यसपछि पानी निथारेर चिसो हुन छाड्ने। अर्कातिर गोलभेँडा तयार गर्न त्यसलाई उसिन्ने र त्यसलाई मिचेर लेदो बनाउने। एउटा कराही वा ताप्केमा तोरीको तेल तताउने। मेथी र जिरा हल्का खरानी हुने गरी भुट्ने। त्यसमै अदुवा-लसुन, खुर्सानी हालेर भुट्ने।
अब उमालेर चिसो भएको बुंगो, मिचेको गोलभेँडा, नुन, बेसार, धनियाँ पाउडर, टिमुर, अनि अमिलो सबै मिसाएर राम्ररी मोल्ने। तयार भयो बुंगोको अचार।
यहाँ पनि बुंगोको अचार सबैभन्दा लोकप्रिय परिकारमध्ये एक रहेछ। त्यही अचारसँग चुस्की लिइँदै गरेको वाइनले साँझ अलिअलि रमरम हुँदै थियो, कालु दाइले भने, ‘यहाँ आउने पाहुनालाई कता बाहिरबाट किनेर रक्सी खुवाउने भनेर हामी आफैँले ब्रान्डी बनाएका छौँ। चाख्ने हो?’
त्यो प्रश्नको उत्तर कसैले दिएन। तर, दाइले के इसारा गरेका थिए टेबलमा ब्रान्डी आइपुग्यो। चाख्ने भनेको ६०/६० एमएल हालेका रहेछन्। स्वात्त पार्दा पो थाहा भयो– केराको गजबको सुगन्ध थियो त्यो रक्सीमा, स्वाद पनि त्यत्तिकै कडा।
अब खान सक्ने र पिउन सक्ने क्षमता बाँकी रहेन, एक एक प्याकेट चिप्स किनेर बाटो लाग्दै गर्दा कालु दाइको कुरा याद आयो– सबै ठाउँमा केरा नै केरा भए त मजा आउँदैन नि। आआफ्नो भूगोलअनुसार आआफ्ना परिकार बनाउन सिकाउनुपर्छ, र मात्र गाउँमा युवा बस्छन् र किसान बस्छन्। त्यही त हो ब्रान्डिङ।
साभारः नेपालन्यूज





