Hamro Patra
आंगिक पोलिटेक्निकको सम्भाव्यता अध्ययन गर्न कोइकाको टोली टीकापुरमा

टीकापुर, कात्तिक १२
सिटिईभिटीको आंगिक पोलेटेक्निक स्थापनाको स्थलगत अध्ययन गर्न कोइका नेपालको टोली टीकापुर पुगेको छ । कोइका नेपालका निमित्त कन्ट्री डाइरेक्टर चुन हि चोयको नेृत्वमा आएको टोलीले आज टीकापुरमा सरोकारवालाहरुसँग छलफल गरेको छ । 

टीकापुर उद्योग वाणिज्य संघको पहलमा भएको सरोकारवालाहरुसँगको छलफल कार्यक्रममा टोलीले सम्भावनाका बारेमा राय सुझाव संकलन गरेको छ ।

कोइकाको आर्थिक सहयोगमा स्थापना हुने आंगिक पोलेटेक्निकले सिटिईभिटीसँग मिलेर चारवटा विषयमा अध्यापन गराउने छ । निमित्त डाइरेक्टर चोयले अटोमोवाइल्स, ब्युटिसियन, टेलरिङ र इलेक्ट्रिसियन विषयमा अध्यापन गराईने जानकारी दिए ।

उनले आंगिक पोलेटेक्निक अन्र्तगत शैक्षिक भवन, प्रशासनिक भवन निर्माण गरिनुका साथै अध्यापन सामाग्री कोरियाबाटै आयात गरिने बताए । 

उनका अनुसार आंगिक पोलेटेक्निकले सञ्चालन गर्ने पाठ्यक्रम हाल सिटिईभिटीले अध्यापन गराउँदै आएको पाठ्यक्रम भन्दा उत्कृष्ठ हुनेछ ।

छलफल कार्यक्रममा विभिन्न व्यवशायीहरु, राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । व्यवशायी र राजनीतिक दलका प्रतिनिधिहरुले टीकापुर सम्भावनाको शहर भएकाले आंगिक पोलेटेक्निकको कार्यक्रम सफल हुने बताएका छन । 

5c0eb946-ae88-4b03-b1c3-22e70d55d9f3-1793277599.jpg
उनीहरुले कार्यक्रम सफल बनाउन स्थानीयस्तरबाट हुने सहयोगका लागि आफूहरु तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन । कोइका नेपालको टोलीले कञ्चनपुरको कृष्णपुर र शुक्लाफाँटाका साथै टीकापुरमा गरी तीन स्थानमा स्थलगत अध्ययन गरिरहेको छ ।

कञ्चनपुरको कृष्णपुरमा भने माटो परिक्षण गर्दा भवन निर्माणमा समस्या देखिएको बताईएको छ । कृष्णपुरमा माटोमा समस्या देखिएपछि कोइकाले विकल्पका रुपमा कृष्णपुरकै अन्यत्र, शुक्लाफाँटा र टीकापुरलाई रोजेको छ । 

टोलीको स्थलगत अध्ययन पश्चात तयार हुने प्रतिवेदनका आधारमा कोइकाले सिटिईभिटीसँगको सरसल्लाहमा स्थान तय गर्ने बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १२, २०८३  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update