Hamro Patra
कर्णालीको सनकट्टी घाटमा बन्ने पक्की पुलको टेण्डर आव्हन

टीकापुर, असार ३०

कैलालीको टीकापुर र बर्दियालाई जोड्ने कर्णाली नदीको सनकट्टी घाटमा पक्की पुल निर्माणका लागि टेण्डर आव्हन गरिएको छ ।

उक्त पुल निर्माणका लागि सडक विभाग पुल महाशाखाले आजै एक सूचना प्रकाशित गरी टेण्डर आव्हन गरेको हो । महाशाखाले डिजाइन बिल्डको खरिद प्रक्रियाबाट निर्माण गर्ने गरी पुलको टेण्डर आव्हन गरेको हो ।

सुदूरपश्चिम प्रदेशको टीकापुरबाट लुम्बिनी प्रदेशको राजापुर, गेरुवा बर्दियालाई जोड्ने छोटो मार्गका रुपमा उक्त प्ुल निर्माण हुन लागेको हो । टीकापुर क्षेत्रका बासिन्दाले सो क्षेत्रमा पक्की पुल निर्माणका लागि लामो समयदेखि सक्रियता देखाउँदै आएका थिए ।

आज प्रकाशित सूचना अनुसार ७ शय ५० मिटर लामो पुलको चौडाई ११ मिटरको हुनेछ । पुलको दुबैतर्फ फुटपाथ समेत रहेको छ । पुलको पहुँच मार्गका लागि ५ शय मिटर सडक समेत कालोपत्रे गरिनेछ ।

पुल निर्माणका लागि लामो समयदेखि सक्रियता देखाउँदै आएका नेपाली काँग्रेसका महासमिति सदस्य नवराज रावलले ठेक्का सम्झौता भएको ५३ महिनाभित्र उक्त पुल निर्माण गरिने बताए ।

यस आर्थिक वर्षको रातो किताबमा सनकट्टी घाटमा पक्की पुल निर्माणका लागि बजेट छुट्याइएको थियो । पटक पटक बजेट छुट्याइए पनि उक्त घाटमा पुल निर्माणका लागि आलटाल हुँदै आएको थियो ।

पुल निर्माणको खबरले आफू निकै खुशी भएको बताउँदै रावलले भने ‘यो वर्ष समेत बजेट फ्रिज हुने अवस्था आएको थियो, केही दिनअघि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल लगायत हामी प्रधानमन्त्री, भौतिक मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका डिजी अर्जुनजंग थापा र पुल महाशाखा गएर टेण्डर गराउन सफल भएका छौं ।’

उनले निर्माण यो टीकापुरका लागि गौरबको आयोजना भएको बताए । उक्त नदीमा पुलको निर्माण भए टीकापुर क्षेत्रको व्यापार, व्यवसायमा उल्लेख्य सुधार हुने बताए ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले उक्त पुल निर्माण भए ब्यापारिक दृष्टिकोणले टीकापुरलाई निकै फाइदा पुग्ने बताए ।

पुल निर्माण हुने गरी टेण्डर आव्हन भएपछि यस क्षेत्रका बासिन्दा खुशी भएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update