टीकापुर, भदौ ७
टीकापुर घटना भएको सात वर्ष पुगेको छ । ७ जना सुरक्षाकर्मी र एक नाबालक सहित ८ जनाको ज्यान जाने गरी २०७२ साल भदौ ७ गते टीकापुर घटना भएको थियो ।
आजको दिनलाई नागरिक उन्मुक्ति पार्टीले टीकापुर विद्रोह दिवसका रुपमा मनाउने भएको छ । टीकापुरमा २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले थारु कल्याणकारिणी संघको सभापतित्व र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख अतिथ्यमा कार्यक्रम गर्ने र जेलबन्दी परिवारका सदस्यलाई अतिथि बनाइ सम्मान गर्ने कार्यक्रम रहेको बताए ।
७ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो। उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन्।



