Hamro Patra
घडियाल उत्सव हुने

टीकापुर, भदौ ८

कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ बैदीस्थित ढुङ्गाना टोलमा प्रथम घडियाल उत्सव आयोजना हुने भएको छ । दुर्लभ घडियाल गोहीको संरक्षण सम्बन्धी सचेतना फैलाउने उद्देश्यले डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालले उत्सव आयोजना गर्न लागेको हो । सो उत्सव भदौ ११ गते हुने संस्थाका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिएका छन् ।

डल्फिन संरक्षण क्षेत्रसमेत रहेको टीकापुर नगरपालिका वडा नं. ७, भजनी नगरपालिका नं. ८ र ३ स्थित नदीमा घडियाल गोही रहेका छन् । यो बेला मोहना, पथरैया, काँढा नदीको दोभानमा केही संख्यामा घडियाल गोही देखा परिरहेका छन् । सो क्षेत्रमा मात्रै दुई दर्जन घडियाल रहेको ढुङ्गानाको दाबी छ ।

यसैगरी, घडियाल उत्सवकै दिनदेखि दोस्रो डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु हुनेछ । भदौ १७ गतेसम्म आयोजना हुने सप्ताहव्यापी सचेतना कार्यक्रममा डल्फिन अवलोकन, ओत संरक्षण सम्बन्धी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, वृक्षारोपण कार्यक्रम हुने अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।

यसैगरी, दुर्लभ डल्फिन र घडियाल संरक्षणका लागि सांसद, मेयर/उपमेयरलाई एसएमएस पठाउने, पुरस्कार वितरण लगायतको कार्यक्रम रहेको ढुङ्गानाले बताए । बैदीस्थित नदीका दोभानमा नजिकबाट डल्फिन अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update