टीकापुर, भदौ १८
टीकापुर नगरपालिका– २ जनशक्ति सामुदायिक वनस्थित मुलपानीमा नुहाउने क्रममा आज एक युवकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार ज्यान जानेमा जानकी गाउँपालिका–८ पहाडीपुरका दण्डप्रसाद उपाध्यायका २० वर्षका छोरा पुष्पराज उपाध्याय रहेका छन ।
प्रहरीका अनुसार चार/पाँच साथीहरुसँग नुहाउन गएका उपाध्याय चार बजेतिर नुहाउने क्रममा पानीमा डुबेर बेहोश भएका थिए । उनलाई साथीहरुले नै उपचारका लागि टीकापुर अस्पताल पुर्याएका थिए ।
साढे चार बजे टीकापुर अस्पताल पुर्याएका उपाध्यायलाई अस्पतालले मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा मृतक सँगै नुहाउन गएका व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुर प्रमुख डिएसपी हेमबहादुर शाहीले घटनाका बारेमा थप अनुसन्धान भैरहेको जानकारी दिए ।



