Hamro Patra
टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा, मुख्य तीन पदमा स्वाँर प्यानलको जीत

टीकापुर, भदौ १९
टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा चक्रपाणी सापकोटा विजयी भएका छन । हिजो भएको निर्वाचनको मतपरिणाम अनुसार ४६५ मत प्राप्त गरेर सापकोटा अध्यक्षमा विजयी भएका हुन । उनका प्रतिस्पर्धी तपेन्द्र स्वाँरले ३९५ मत प्राप्त गरेका छन । उनीहरु दुवैजना छुट्टाछुट्टै प्यानल सहित चुनावी मैदानमा होमिएका थिए । अध्यक्षमा स्वतन्त्र लडेका राजेन्द्र शाहले १२५ मत पाएका छन ।

कार्यसमितिको मुख्य तीन पदमा भने स्वाँर प्यानलका उम्मेदवार विजयी भएका छन । संघको उपाध्यक्ष उद्योगतर्फ सन्तोष खड्का, महासचिवमा नवराज रिमाल र कोषाध्यक्षमा लोकेश साउँद विजयी भएका छन । खड्काले ४८८, रिमालले ५०८ र साउँदले ३६४ मत पाएका छन । उनीहरु तीनैजना स्वाँर प्यानलबाट चुनाव लडेका हुन ।

सापकोटा प्यानलबाट उद्योगतर्फको उपाध्यक्ष लडेका जगतराज चौधरीले ४४३, महासचिवमा परमानन्द पाण्डेले ४४३ र हरिलाल चौधरीले ३१० मत प्राप्त गरेका छन । उनीहरु तीनैजना पराजित भएका छन । कोषाध्यक्षमा स्वतन्त्र लडेका टेकबहादुर सोडारीले २८२ मत पाएका छन ।

वाणिज्यतर्फको उपाध्यक्षमा सापकोटा प्यानलका कृष्णप्रसाद उपाध्याय बजगाई सबैभन्दा धेरै मत प्राप्त गरेर विजयी भएका छन । उनले ६५० मत पाएका छन । उनका प्रतिस्पर्धी स्वाँर प्यानलका नैनसिँह केसीले ३१५ मत पाएका छन । सचिवमा समेत सापकोटा प्यानलकै तपेन्द्र कुँवर ४५२ मत सहित विजयी भएका छन । सचिवका उम्मेदवार स्वाँर प्यानलका दिपेन्द्र रावलले २९२ र स्वतन्त्र लडेका प्रकाश शाहले २०६ मत पाएका छन ।

आठ जना खुल्ला सदस्यमा सात जना सापकोटा प्यानलबाट विजयी भएका छन । विजयी हुनेमा प्रकाश उपाध्याय तिमिल्सेना (६०४), पृथ्वीराज ढुंगाना (५६९), हेमन्त रावल (५६०), दुर्गा साहु (५४२), बमबहादुर वली (५३७), नमराज देवकोटा (४६९), हंश रावल (४६६) रहेका छन । स्वाँर प्यानलकातर्फबाट खुल्ला सदस्यमा लालबहादुर चौधरी (४५७) मत प्राप्त गरेर विजयी भएका छन ।

संघको महिला सदस्यमा स्वाँर प्यानलकी टीका शाही विजयी भएकी छन । उनले ५६७ मत प्राप्त गरेकी छन । प्रतिस्पर्धी पार्वतीकुमारी महतोले ४०२ मत पाएकी छन । यसअघि नै दलित सदस्य तर्फ माया बागदास र जनजाति सदस्य तर्फ जीतबहादुर चौधरी निर्विरोध निर्वाचित भैसकेका थिए ।

निर्वाचनमा कुल १ हजार १६३ मतदाता रहेकामा १ हजार ३८ जनाले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले जानकारी दिए । संघको कार्यसमितिको कार्यकाल तीन वर्षको रहने व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update