Hamro Patra
कैलाली क्षेत्र नं. १ मा एमालेले सिफारिस गर्यो उम्मेदवार

टीकापुर, भदौ १९
नेकपा एमालेले कैलाली क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीको क्षेत्रीय कमिटीले आज प्रतिनिधि सभा उम्मेदवारका लागि टीकापुर नगरपालिकाका पूर्वमेयर तपेन्द्रबहादुर रावल लगायत तीन जनाको नाम सिफारिस गरेको छ । सिफारिस हुनेमा सम थापा र सिलु खतिवडा रहेका छन ।

अछामका एमाले नेता कमल तिमिल्सिनाको नाम चर्चामा आए पनि पूर्वमेयर रावलले इच्छा व्यक्त गरेपछि पार्टीले उनी लगायतको नाम सिफारिस गरेको बताईएको छ । स्रोतका अनुसार पार्टीले रावललाई नै उम्मेदवारका रुपमा अघि सार्ने बताईन्छ ।

जानकी र जोशीपुर गाउँपालिका रहेको प्रदेश क्षेत्र (क) बाट कमिटीले प्रेमलाल चौधरी, डिल्ली जोशी, भोजराज शर्मा र भावना विकको नाम सिफारिस गरेको छ । त्यस्तै टीकापुर नगरपालिका रहेको प्रदेश (ख) बाट द्वारिका न्यौपाने, दीपक रावल र भावना रतनको नाम सिफारिस भएको छ ।

स्रोतका अनुसार प्रदेश (क) बाट चौधरी र प्रदेश (ख) बाट न्यौपाने उम्मेदवार रहने बताईएको छ । क्षेत्रीय कमिटीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारको नाम जिल्ला कमिटी कैलालीमा सिफारिस गरेको हो ।

यो रेशमलाल चौधरीले जितेको क्षेत्र हो । यहाँ नागरिक उन्मुक्ति पार्टीसँग चुनाव लड्न ठूला दल समेत डराईरहेका छन । स्थानीय तहको निर्वाचनमा चारवटा पालिका जित हात पारेपछि नागरिक उन्मुक्ति पार्टीले उपस्थिति सशक्त बनेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update