Hamro Patra
टीकापुरस्थित गणेश बाबा स्कुलका विद्यार्थी सुदूरपश्चिम टप

टीकापुर, भदौ २२
टीकापुरस्थित गणेश बाबा इङ्लिस बोर्डिङ स्कुलका छात्र प्रवेश रावलले कक्षा १२ को परिक्षामा सुदूरपश्चिम प्रदेश टप गरेका छन । उनी कक्षा १२ को परिक्षामा सुदूरपश्चिम प्रदेशबाट सहभागी विद्यार्थी मध्ये सबैभन्दा धेरै जिपिए हासिल गरेर उत्तीर्ण भएका छन ।

उनले ३ दशमलव ७५ जिपिए प्राप्त गरेका छन । टीकापुर बहुमुखी क्याम्पसको पुस्तकालय (लाईब्रेररी) मा कार्यरत इन्द्र रावल र शिक्षिका डिला रावलका छोरा प्रवेश पढाईमा निकै अब्बल छन ।

विद्यालयका प्रिन्सिपल भुवनेश्वर पन्तले अहिलेसम्म छात्र रावलको बराबर जिपिए हासिल गर्ने अरु विद्यार्थीको बारेमा जानकारी नभएको बताए । उनले अहिलेसम्म कसैले पनि छात्र रावलको बराबरको जिपिए हासिल गरेको खबर प्राप्त नभएकाले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै दावी गरेको बताए ।

‘धनगढी र महेन्द्रनगरका विद्यालयम सोध्दा यति जिपिए कसैको भेटिएन’ उनले भने–‘त्यसैले सबैभन्दा धेरै हो भन्ने हाम्रो दावी हो ।’

उनले छात्र रोचक खड्काले ३ दशमलव ६२ र गौरव खनालले ३ दशमलव ५३ जिपिए प्राप्त गरेर उत्तीर्ण भएको जानकारी दिए । उनका अनुसार खड्का र खनालले प्राप्त गरेको जिपिए समेत अन्य विद्यार्थीको तुलनामा धेरै हो ।

सो विद्यालयबाट १५ जनाले कक्षा १२ को परिक्षा दिएका थिए । ती मध्ये १२ जना उत्कृष्ठ अंक हासिल गरेर उत्तीर्ण भएका छन भने ३ जनाले पुरक परिक्षा दिनुपर्ने भएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update