Hamro Patra
राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेमाथि बलात्कारको आरोप

काठमाण्डौं, भदौ २२
जिल्ला प्रहरी परिसर काठमाडौंले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको जाहेरी अनुसार निष्पक्ष रुपमा अनुसन्धान गर्ने बताएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले लामिछाने विरुद्ध जाहेरी अनुसार अनुसन्धान सुरु भइसकेको जानकारी दिए ।

उनका अनुसार प्रहरीले घटनाको प्रमाण संकलन गर्ने र बयान लिने काम पनि अगाडि बढाएको छ । प्रहरीले काठमाडौं र नगरकोटमा बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ । सम्पूर्ण कागजी कामहरू सकाएर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी माग्ने प्रहरीको तयारी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको छ ।

जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको विज्ञप्तिमा उल्लेख छ ।

उजुरीमा ती नाबालिकाले गत भदौ ५ गते काठमाडौँ र भक्तपुरको विभिन्न स्थानहरूमा लगी काठमाडौँ ल्याई रातको अन्दाजी ११ः५५ बजे काठमाडौं महानगरपालिका–९ स्थित एक होटलको कोठा नं. ३०५ मा लामिछानेले आफूलाई राखेको बताएकी छन् ।

उनले भदौ ६ गते राति अन्दाजी १२ः ५ बजेसम्म पटक पटक जबरजस्ती करणी गरेको लगायत उल्लेख गरी भाद्र २१ गते प्रहरी बृत्त, गौशालामा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।

नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन् । उनी क्यारेबियन प्रिमियर लिग खेल्न गएका हुन ।

प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update