Hamro Patra
१५ वर्षीया किशोरी सामुहिक बलात्कारको शिकार

टीकापुर, २४ भदौ

कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकामी १५ वर्षीया एक किशोरी सामुहिक बलात्कारको शिकार भएकी छन् ।

घोडाघोडी बजार क्षेत्रमा रहेको हेलिप्याड मैदानमा देउडा खेल हेर्न गएकी उनी भदौ २१ गते राति चार जनाको सामूहिक बलात्कारको शिकार भएकी हुन् ।

बिहीवार विहानै बजार क्षेत्रमा असामान्य व्यवहार देखाई रहेको अवस्थामा इलाका प्रहरी कार्यालय सुख्खडले ती किशोरीलाई स्थानीय अस्पतालमा लगेको थियो ।

इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीका अनुसार बिहीबार विहानै अचेत अवस्थामै बजार क्षेत्रमा हिँडिरहेको भेटिएकी ती किशोरी स्थानीय अस्पतालमा उपचारपछि सामुहिक बलात्कारको शिकार भएको घटना बाहिर आएको हो ।

पीडित किशोरीले आज इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छन् । शाहीका अनुसार आरोपी चार मध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

शाहीका अनुसार काम छ भन्दै एकान्तमा बोलाएर जबरजस्ती करणी गरेको जाहेरी पत्रमा उल्लेख छ । ती किशोरी सुखड बजारको हेलिप्याडमा भइरहेको देउडा हेर्न गएको समयमा घटना भएको प्रहरीले जनाएको छ ।

‘भदौ २२ गते बिहान प्रहरीले सुखड बजारमा ती किशोरीलाई असामान्य अवस्थामा फेला पार्‍यो, प्रहरीले नै उपचारका लागि स्थानीय अस्पतालमा लग्यो । त्यो समयमा ती किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्,’ शाहीले भने, ‘राति दुई पछि होसमा आएकी उनले आफूमाथि सामुहिक बलात्कार भएको बताएकी थिइन् । उनलाई आफन्तको जिम्मा लगायौं ।’

बलात्कृत किशोरीले आज (शुक्रबार) बिहान इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि आरोपित चारमध्ये तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको उनले बताए ।

आरोपित एक जनाको समेत खोजी कार्य भइरहेको शाहीले बताए । उनले घटनाको बारेमा थप अनुसन्धान भइरहेकाले घटनाबारे थप विवरण अनुसन्धानपछि मात्रै खुल्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update