टीकापुर, भदौ २८
कैलालीमा पछिल्लो दुई महिना यता ७३ जना डेंगुका बिरामी भेटिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार गएको साउन १ गतेदेखि भदौं २८ गतेसम्म कैलालीमा ७३ जना डेंगुका बिरामी भेटिएका हुन् । कैलालीका १३ वटै पालिकामा डेंगु फैलिएकोले सचेत रहन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले आग्रह गरेको छ ।
अहिले डेंगु बढी फैलिने समय भएकाले सबै सरोकारवाला निकाय तथा नागरिकहरुलाई डेंगु नियन्त्रणमा जुट्न अपिल गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।
विशेषगरी कैलालीको टीकापुर, लम्कीचुहा, भजनी, गोदावरी नगरपालिका, धनगढी उपमहानगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा डेंगुको संक्रमण बढी देखिएको प्रमुख धामीले जानकारी दिए ।
डेंगु नियन्त्रणका लागि स्वास्थ्य कार्यालय कैलालीले स्थानीय पालिकालाई लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सञ्चालन गर्न आग्रह गर्नुका साथै किटनाषक औषधी पनि पालिका स्तरमा पुगाई सकेकाले अव लामखुट्टे मार्ने औषधी पनि छर्किने तयारी भइरहेको धामीले बताए ।
कैलालीमा गत वर्ष भन्दा यस वर्ष डेंगुका बिरामी बढेका र असारदेखि कार्तिक महिनासम्म डेंगुको प्रकोप देखिन सक्ने भएकाले आफ्नो घर वरिपरी तथा टोल छिमेकमा पानी जम्ने स्थानमा सफा राख्न समेत स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।
‘कुनै स्थानमा एक जना डेंगुका बिरामी भेटिएमा त्यो वरपर करिब १ हजार जनामा डेंगु फैलिएको हुन सक्ने भएका कारण नागरिकहरुले झनै सर्तकता अपनाउनु पर्ने हुन्छ’ धामीले भने ।
कैलालीमा चालु आर्थिक वर्षको अहिलेसम्म २ जनाको डेंगुका कारण मृत्यु भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि देशैभर डेंगु फैलिसकेकाले नागरिकहरुलाई लामखुट्टेको टोकाईबाट बच्न आफ्नो बस्ने घर वरिपरी सफा राख्न र शरीरका अंग छोपिने गरी कपडा लगाउन आग्रह गरेको छ ।



