Hamro Patra
श्रीलंकाको स्वास्थ्य सेवा ठप्प

टीकापुर, भदौ ३०

भाइरल ज्वरोको सङ्क्रमण बढिरहेको बेला कैलालीमा एक स्वास्थ्य संस्थाको सेवा ठप्प भएको छ । संस्थामा कार्यरत कर्मचारी अन्यत्र गएपछि टीकापुर नगरपालिकाको विकट श्रीलंकामा रहेको सहरी स्वास्थ्य केन्द्रको सेवा महिनादिनदेखि ठप्प भएको हो ।

सीमावर्ती विकट क्षेत्रका स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना भएको सहरी स्वास्थ्य केन्द्र महिना दिनदेखि बन्द रहेको छ । स्वास्थ्य केन्द्र नै बन्द भएपछि श्रीलंकावासीले केन्द्रबाट स्वास्थ्योपचार सेवा पाउन सकेका छैनन् ।

‘गएको साउनदेखि सहरी स्वास्थ्य केन्द्रको भवनमा ताला लागेको छ’ स्थानीय नयाँराम बुढाले भने ‘खै के कारणले यहाँ कर्मचारी आउन मानेका छैनन् ?’ स्वास्थ्य संस्था नै बन्द भएपछि श्रीलंकावासीलाई स्वास्थ्योपचारमा समस्या भएको छ । कोही बिरामी परेमा उपचारका लागि बटनपुर, टीकापुर वा बर्दियाको राजापुर धाउनु परिरहेको बुढाको भनाइ छ ।

‘अहिले भाइरलको समस्या देखा परिरहेकाले बिरामी भएका बढी जसो उपचारका लागि राजापुरतिर गइरहेका छन्’ उनले भने ‘यसै वर्षदेखि सहरी स्वास्थ्य केन्द्रबाट सेवा सुरु भएको थियो । त्यो पनि धेरै समय सञ्चालन भएन, बन्द गरिएको छ ।’

स्थानीयका अनुसार एक जना एएनएमको भरमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको थियो । सो केन्द्रमा कार्यरत एएनएम कर्मचारीलाई अन्यत्र खटाइएको बताइएको छ । कर्मचारी अन्यत्र गएपछि त्यसपछि अरु कर्मचारी केन्द्रमा आएका छैनन् । त्यो बेलादेखि सहरी स्वास्थ्य केन्द्र बन्दको बन्दै रहेको छ । सुविधा छैन भनेर कर्मचारी आउन नमानेको कुरा सुनिएको अर्का स्थानीय भीम महरले बताए ।

कर्मचारी नआउँदा सहरी स्वास्थ्य केन्द्रको कार्यालय बन्द भएको धेरै दिन बितिसके पनि नगरपालिका गम्भीर नभएको स्थानीयवासीको गुनासो छ । उनीहरुले छिटै कर्मचारी पठाउन र सहरी स्वास्थ्य केन्द्रको सेवा फेरि सञ्चालन गर्न आग्रह गरेका छन् ।

केन्द्रको भवनमा विद्युत र खानेपानीको व्यवस्था नरहेको जनाइएको छ । विद्युत र खानेपानी नभएका कारणले पनि कर्मचारी आउन नचाहेका हुन कि, भन्ने स्थानीयको बुझाइ रहेको छ ।वडा नम्बर ८ का वडा अध्यक्ष दीर्घ ठकुल्लाले केही दिनभित्रै सहरी स्वास्थ्य केन्द्र खुल्ने बताए ।

‘श्रीलंकामा पब्लिक पनि कम रहेकाले त्यहाँ कार्यरत कर्मचारीलाई केही समयलाई अन्यत्र पठाएका हौं’ उनले भने ‘उहाँ फेरि आउनुहुन्छ र हामी सेवा सञ्चालन गर्छौ । जनतालाई सेवा दिनकै लागि यो बनाइएको हो ।’ वडा अध्यक्ष ठकुल्लाले सहरी स्वास्थ्य केन्द्र बन्द भएको महिना दिन नभई एक हप्तामात्रै भएको उल्लेख गरे । ‘बन्द भएको धेरै दिन भएको छैन’ उनले भने ‘छ/सात दिनमात्रै भएको छ ।’

एक वडामा एउटा मात्रै सहरी स्वास्थ्य केन्द्र रहने व्यवस्था रहे पनि विकट श्रीलंकावासीलाई सेवा दिनका लागि श्रीलंकामा छुट्टै सहरी स्वास्थ्य केन्द्र खोलिएको वडा अध्यक्ष ठकुल्लाको भनाइ छ ।

कणर्ाली र मोहना नदीको तल्लो तटीय क्षेत्रमा पर्ने श्रीलंकामा ५५/६० घर परिवारको बसोबास रहेको छ । कैलालीमा डेंगुु रोगबाट बिरामी हुनेको संख्या १२४ पुगेको छ । चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा सो संख्यामा डेंगुका बिरामी फेला परेका हुन ।

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update