टीकापुर, भदौ ३१
टीकापुर नगरपालिकाले टीकापुरका सञ्चार गृहलाई वितरण गर्ने भनिएको सञ्चार सामग्री मोबाइल विवादित बनेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा नगरपालिकाले स्थानीय सञ्चार गृहलाई उत्प्रेरणाका लागि सञ्चार सामग्री खरिद गर्न ५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो ।
असार मसान्तभित्रै सञ्चार गृहलाई वितरण गरिसक्नु पर्ने भए पनि विवादित बनेका कारण हालसम्म वितरण हुन नसकेको हो । नगरपालिकाको सूचना शाखाले नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटासँगको समन्वयमा यहाँस्थित १७ वटा सञ्चार गृहलाई असारमै मोबाइल वितरण गर्ने तयारी गरेको थियो ।
टीकापुरमा रहेका अन्य सञ्चार गृहले आफूहरुले समेत मोबाइल पाउनु पर्ने माग राखेपछि विवादित बनेको हो । सूचना शाखा प्रमुख अमृता रावलले बजेटमा भएको व्यवस्था अनुसार मोबाइल वितरण गर्ने तयारी भए पनि अन्य पत्रकारहरुले समेत पाउनु पर्ने माग गरेपछि मोबाइल वितरण हुन नसकेको बताइन् ।
‘सञ्चारकर्मीलाई उत्पे्ररणाका लागि सञ्चार सामग्री खरिद गर्ने बजेटमा भएको व्यवस्था अनुसार पत्रकारसँगको समन्वयमा मोबाइल खरिद गरिएको हो’ रावलले भनिन् ‘तर त्यो सूचीमा नभएका अरु पत्रकारहरु पनि पाउनु पर्ने भन्दै आएपछि वितरण हुन नसकेको हो ।’ उनले पत्रकारहरुले समन्वय गरेर आए वितरण गर्न समस्या नहुने उनले बताइन् ।
नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले स्थानीय सञ्चार माध्यमलाई स्थानीय सरकारले संरक्षण गर्नुपर्ने दायित्व भएको बताउँदै महासंघको प्रतिनिधिका रुपमा आफूले टीकापुरमा क्रियाशील रहेका सञ्चार गृहको नाम सूचना शाखालाई दिएको बताइन् ।
‘नगरपालिकाले मिडियाका नाममा वार्षिक ३६ लाख बढी रुपैयाँ खर्च गरेको देखिन्छ’ उपाध्यक्ष देवकोटाले भनिन् ‘यहाँका सञ्चार गृहले लोक कल्याणकारी विज्ञापन प्रकाशन गरे बाफत् ८/१० लाख लिनु अपराध हो र ? यो सेवावाफत्को भुक्तानी हो ।’
उनले नगरपालिकाले स्थानीय सञ्चार गृहको संरक्षणका लागि लोक कल्याणकारी विज्ञापन वितरण गर्न कार्यविधि बनाएको बताइन् ।
यता, टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले असारमै वितरण गर्नुपर्ने मोबाइल अहिलेसम्म वितरण हुन नसक्नु कारणबारे आफू अनविज्ञ रहेको बताए । ‘यो विषयमा धेरै चर्चा भइसक्यो मैले सम्बन्धित शाखालाई यसको कारणबारे सोध्छु’ मेयर थारुले भने ‘बजेटमै भएको व्यवस्था अनुसार प्रक्रिया अगाडि बढ्नु पर्छ ।’
टीकापुरका सञ्चार गृहलाई नगरपालिकाले दिने भनिएको मोबाइल वितरण नै नहुँदै विवादित बनेको हो । नगरपालिकाको सूचना शाखाका अनुसार हालसम्म कुनै पनि सञ्चार गृहले मोबाइल लिएको छैन । यसअघि नगरपालिकाले टीकापुरबाट प्रकाशित हुँदै आएका सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेवाफत् रकम भुक्तानी गर्दै आएको थियो ।



