टीकापुर, असोज ३
कैलालीको भजनी नगरपालिकामा तेस्रो दिनसम्म अझै केही गाउँका घरहरू डुबानमै छन् । नदीहरूमै पानीको सतह धेरै नघटेकाले भजनी नगरपालिका-३ र ८ का केही गाउँ अझै डुबानमा छ ।
डुबानका कारण अझै पनि प्रभावितहरू घरसम्म जान सक्ने अवस्था नरहेको भजनी नगर पालिकाका प्रवक्ता विक्रम चौधरीले जानकारी दिए । ‘अझै ९/१० गाउँ डुबानमै छन’ उनले भने ‘अन्यतिर पानी घटे पनि मान्छे आ-आफ्ना घरमा अझै फर्कन सकेका छैनन् ।’ आज अलि धेरै पानी घटेमा त्यसपछि केही गाउँका मान्छे घरसम्म पुग्न सक्ने चौधरीले बताए ।
शनिबार कान्द्रा, पथरैया, काँढा र मोहना नदीको बाढीका कारण भजनी नगरपालिकाको नौ वटै वडामा डुबान भएको थियो । डुबानका कारण पालिकामा मात्रै पाँच हजारभन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् । उनीहरू सडक, विद्यालय, सुरक्षित भवन, पक्की घरको छत लगायतमा बसिरहेका छन् ।
हिजो बेलुकासम्म सबैको उद्धार गरिएको र फास्ट फुडसहित पानी वितरण गरिएको प्रवक्ता चौधरीले जानकारी दिए ।
थप एक जनाको मृत्यु
यसैबिच, भजनी नगरपालिकामा बाढीमा डुबेर थप एक जनाको ज्यान गएको छ । हिजो पानीमा डुबेर वडा नम्बर भुरुवाका एक बालकको ज्यान गएको प्रवक्ता चौधरीले जानकारी दिएका छन् ।



