Hamro Patra
कैलाली कारागारमा रहेका ८ कैदीलाई माफी

टीकापुर, असोज ३

कैलाली कारागारमा विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका ८ जना कैदी कैदलाई आम माफी दिइएको छ ।

संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हत्या अभियोगमा कैद सजाय पाएका चारसहित ८ जनाको बाँकी कैद कट्टा गरेपछि उनीहरु कैदमुक्त भएका हुन्।

कैदमुक्त हुनेमा हत्या अभियोगमा २० वर्ष जेल सजाय भएका स्थायी घर पर्वत भएर धनगढीको फूलबारीमा बस्दै आएका रामबहादुर खत्री, डोटीको पूर्वीचौकी गाउँपालिका-१ का नृप साउद, बाँकेको नैनारापुरका केशव जाखा र कैलालीको जोशीपुर गाउँपालिका-४ का विशाल चौधरीको बाँकी कैद मिनाह भएको कैलाली कारागारका जेलर नरबहादुर थापाले बताए। उनीहरु चारै जनाले ९ वर्ष कैद सजाय काटिसकेका थिए।

यस्तै ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका जानकी गाउँपालिका-१ का धनबहादुर शाही, गौरीगंगा नगरपालिका-८ का त्रिभुवन चन्द, सवारी ज्यान उद्योगका सुवास थापा र चुरे गाउँपालिका-३ का दिपक अधिकारी पनि छुटेका छन्।

उनीहरु मध्ये ज्यान मार्ने उद्योगका चन्द र शाहीले पाँच-पाँच वर्ष कैद सजाय भएकोमा ४० प्रतिशत भुक्तान गरिसकेका थिए भने सवारी ज्यानका थापा र अधिकारीलाई तीन-तीन वर्ष कैद सजाय भएकोमा उनीहरुले पनि आधा कैद मिनाह गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update