Hamro Patra
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सतर्कता

टीकापुर, असोज ५

कैलालीको बाढी प्रभावित क्षेत्रमा विभिन्न रोगको सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाइएको छ। डुबानपछि फोहोर, लामखुट्टे र दूषित पानीका कारण विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले सतर्कता अपनाइएको हो।

गत शनिबार विभिन्न नदीमा आएको बाढीका कारण जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा बढी डुबान भएको थियो। डुबानका कारण करिब पाँच हजार परिवार विस्थापित भएकामा धेरैजसो अझै घर फर्कन सकेका छैनन्। उनीहरू हुलाकी सडक, सुरक्षित भवन, विद्यालयलगायतमा बसिरहेका छन्।

फोहोर, चिसोलगायतका कारण बाढी प्रभावितलाई विभिन्न रोग लाग्नसक्ने सम्भावना रहेकाले त्यस्ता रोगको सङ्क्रमण फैलिन नदिनका लागि सतर्कता अपनाइएको भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताए ।

‘हामीले सबै वडामा आवश्यक औषधिसहित स्वास्थ्यकर्मी खटाएका छौँ’ उनले भने ‘यसका साथै सरसफाइ र पानी शुद्धीकरणसम्बन्धी जनचेतना फैलाउने कार्य गरिरहेका छौँ ।’

भजनी नगरपालिकामा सबैभन्दा बढी विस्थापित छन्। सो पालिकाको वडा नम्बर ३, ५, ७ र ८ पूणर् रूपमा डुबेको थियो। डुबान भएका घरबाट पानी निस्केको छ। वडा नम्बर ८ का कतिपय घरमा भने अझै पानी भरिएकै छ।

डुबान भएको बेलामा दूषित पानी र चिसोका कारण पनि धेरै मान्छे बिरामी पर्ने सम्भावना रहने गरेको चौधरीले बताए । उनले बाढी प्रभावितलाई पानीकै कारण कुनै स्वास्थ्य समस्या नहोस् भनेर नगरपालिकाले सबै वडामा ‘मिनिरल वाटर’ बाँडेको उल्लेख गरे ।

‘अझै केही समय मिनिरल वाटर नै पिउन र नल्काको पानी पिउनैपर्ने भएमा राम्रोसँग उमालेर मात्रै पिउनका लागि समुदायवासीलाई आग्रह गरेका छौँ’ स्वास्थ्य संयोजक चौधरीले भने ।

डुबान भएको कतिपय क्षेत्रमा उच्च नल्का रहेको थियो। उच्च नल्का भएका ठाउँका स्थानीयवासीले ती नल्काबाट पानी खाइरहेका जनाइएको छ। तर, बाढी घटेपछि कतिपयले डुबान भएको नल्काको पानी पिउन थालेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खास गरेर डेङ्गु, मलेरिया, भाइरल ज्वरो, झाडापखाला र स्क्रबटाइफस सङ्क्रमणको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ। रोग सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर पालिकाहरूमा आवश्यक औषधि, वाटर गार्ड र पीयूष पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए । ‘पालिकाहरूले झुल पनि माग गरेका थिए तर झुल हामीसँग पनि छैन’ उनले भने ‘प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले झुल खरिद गरेर वितरण गर्दैछ ।’

प्रभावितमा ज्वरो र रुघाखोकी

यसैबीच भजनी नगरपालिकाका बाढी प्रभावितमा ज्वरो र रुघाखोकीको समस्या देखिएको छ । त्यस्तो समस्या भएपछि सबै वडामा स्वास्थ्यकर्मी खटाएर पाँच सय जनाको औषधोपचार गरिएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।

‘अहिले समस्या अलि कम भएको छ’ उनले भने ‘डुबान भएको दोस्रो दिनबाट धेरै मान्छे बिरामी परेका थिए ।’

प्रकाशित मिति: बुधबार, असोज ५, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update