टीकापुर, असोज ५
जोशीपुर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने व्यवस्था गरेको छ । गाउँपालिकाले विभिन्न वित्तिय संस्थाहरुसँगको सहकार्यमा वडास्तरबाटै भत्ता वितरण गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको यही भदौ १३ गतेको बैठकले चालु आर्थिक वर्षदेखी कार्यान्वयन हुने गरी भत्ता वितरण वडास्तरबाटै गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज खत्रीले जानकारी दिए ।
उनले गाउँपालिकाका सात वटै वडामा दुई÷दुई स्थानबाट भत्ता वितरण हुने बताए । बैंकका कर्मचारीहरुले नै वडामा पुगेर लाभान्वित व्यक्तिहरुलाई भत्ता उपलब्ध गराउने बताईएको छ ।
प्रमुख प्रशासकीय अधिकृत खत्रीले बैंकमा लामो लाईन लागेर लाभान्वित व्यक्तिहरुले कठिनाई भोग्नु परेको जनगुनासोलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको बताए । उनले वडाका दुई ठाउँबाट भत्ता वितरण हुँदा लाभान्वित व्यक्तिहरुको चाप समेत कम हुने भएकाले सहज हुने बताए ।
गाउँपालिकाले सातवटै वडाका ३ हजार २२४ जनालाई भत्ता वितरण गर्नेछ । भत्ता पाउने लाभान्वितमा जेष्ठ नागरिक, पूर्ण अपाङ्गता, आंशिक अपाङ्ता, एकल महिला र दलित छात्रछात्रा रहेका छन । उनीहरुले त्रैमासिक रुपमा भत्ता पाउने छन ।
यसरी भत्ता वितरण गर्दा लाभान्वित व्यक्तिहरुलाई सहज हुने मात्रै नभई पारदर्शी समेत हुने गाउँपालिकाले विश्वास गरेको छ ।



