टीकापुर, असोज ७
गतवर्ष बेमौसमी वर्षा र त्यसपछि आएको बाढीका कारण धान बाली गुमाएका कैलाली, कञ्चनपुरका किसान यो वर्ष फेरि त्यहि समस्या भोग्न बाध्य भएका छन् । गत शनिबार आएको बाढीले धान बालीमा नोक्सान गरे पनि किसान चिन्तित भएका छन् । पाक्नै लागेको धान बालीमा बाढीले नोक्सान गरेपछि उनीहरु चिन्तित भएका हुन ।
गएको शनिबार आएको बाढीले किसानको धान बालीमा क्षति गरेको हो । बाढीले खेतको धान ढलाउनुका साथै पुरि दिएको कैलारी गाउँपालिका-७ भुईयाँफाँटाका कृषक चुल्हुराम चौधरीले बताए । ‘पाक्नै लागेको धानलाई बाढीले ढलाउनुका साथै, पुरि दिएको छ’, उनले भने,‘यो वर्ष पनि अब धान रहेन ।’
गतवर्ष कात्तिकमा आएको बेमौसमी वर्षा र बाढीका कारण कैलालीका किसानले धान बालीमा ठूलो नोक्सान ब्यहोरेका थिए । गत वर्ष भित्र्याउन तयारी भएको धान सखाप भएपछि धेरैजसो परिवार भोकमरीसंग जुधि रहेका छन् । यो वर्ष पनि किसानहरुको त्यहि दशा भएको भजनी नगरपालिका-५ लालबोझीका कृषक लबरु डङ्गौराले बताए । ‘तीन बिघा जमिनमा लगाएको मेरो धान बाली यो वर्ष पनि रहेन’, सुनाए,‘कान्द्रा नदीको बाढीले धान सोत्तरै पार्यो ।’
डङ्गौराका अनुसार कतिपय किसानको खेतमा धान पाक्ने सुरसारमा थियो भने, कतिपयको खेतमा भर्खर पसाइ रहेको थियो । तयार भइरहेको र पसाउन लागेको सबै खाले धान बालीलाई बाढीले नोक्सान गरेको उनले बताए ।
‘गत वर्ष एक मुठा पनि धान भित्र्याउन पाइन’, उनले दुखेसो गरे,‘यो वर्ष पनि बाढीले खत्तमै पार्यो । घरपरिवार कसरी पाल्ने, चिन्ता छ ।’ गतवर्ष धान बाली गुमाएका किसान गहुँ किनबेच गरेर चामल खरिद गरी गुजारा गरिरहेका छन् । तर, चामल पनि अचाक्ली महँगिएको उनीहरुको गुनासो छ ।
कैलारी गाउँपालिकाको वडा नम्बर ३, ५, ७ र ८ मा मोहना, कटैनी नदीले धान बालीमा नोक्सान गरेको छ । यस्तै, भजनी नगरपालिकामा कान्द्रा, मोहना, पथरैया, काँढा, जोशीपुरमा काँढा, पथरैया, टीकापुर नगरपालिकाको ७, ८ मा पथरैया, मोहना, कणर्ाली नदीको बाढीले कृषिमा नोक्सान गरेको छ ।
भजनीका धेरैजसो किसानको त यो वर्ष पनि खेतमा केही नबचेको वडा नम्बर ५ का वडा अध्यक्ष केशव बुढाले कताए । ‘किसानको धान बालीमा यो वर्ष पनि ठूलो नोक्सान भएको छ’, उनले भने ।
सबैभन्दा बढी डुबान भएको भजनी नगरपालिकामा बाढीले कृषि बालीमा गरेको क्षतिको विवरण सङ्कलनको कार्य भइरहेको भजनी नगरपालिकाको कार्यालयले जानकारी दिएको छ । ‘के कति क्षति भयो, त्यसको विवरण अझै आइपुगेको छैन’, नगरपालिकाका कृषि शाखामा कार्यरत प्राविधिक सहायक कमल चौधरीले भने,‘तर, धान खेती भएको सबै क्षेत्रमा नोक्सान भएको छ । विवरण सङ्कलनको कार्य भइरहेको छ ।’



