Hamro Patra
टीकापुर बहुमुखी क्याम्पसलाई नयाँ मतदान स्थल तोकियो

टीकापुर, असोज ७

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि कैलालीको टीकापुर बहुमुखी क्याम्पसलाई नयाँ मतदान स्थल तोकिएको छ । टीकापुर नगरपालिका वडा नं. १ मा मतदाताको संख्या धेरै भएपछि नयाँ मतदान स्थल हुनुपर्ने माग हुँदै आएको थियो ।

जिल्ला निर्वाचन कार्यालय कैलालीले टीकापुर बहुमुखी क्याम्पससहित दश ठाउँमा मतदान केन्द्र थप गरिएको जनाएको छ । निर्वाचन अधिकृत प्रेम भट्टले जिल्लाका दश ठाउँमा मतदान स्थल थप गरिएको बताए ।

‘जिल्लाका विभिन्न दश ठाउँमा मतदान केन्द्र थप थपेका छौं’ अधिकृत भट्टले भने ‘अब कैलालीमा २ शय ३७ मतदान स्थल र ६ शय २९ मतदान केन्द्र पुगेका छन् ।’

भट्टले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि कैलालीमा थप १० हजार ३ शय ८९ मतदाता थपिएको बताए । ‘वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि दश हजार भन्दा बढी मतदाता थपिएका छन’ उनले भने ‘मतदाता थप भएपछि एउटा मतदान स्थल, दश ठाउँमा मतदान केन्द्र पनि थपिएका छन् । एउटा मतदान केन्द्र बराबर एक हजार मतदाता भएकाले थप्नु परेको हो ।’

कैलालीमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सहभागीको हुने मतदाताको संख्या ५ लाख ३५ हजार ५ सय १४ रहेको छ । जसमध्ये पुरुष मतदाता २ लाख ६१ हजार ६ सय २०, महिला मतदाता २ लाख ७३ हजार ८ सय ८३ र अन्य मतदाता ११ रहेको निर्वाचन अधिकृत भट्टले जानकारी दिए । उनका अुनसार गत स्थानीय तहको निर्वाचनमा ५ लाख २५ हजार १ सय २५ मतदाता रहेका थिए ।

कैलालीमा पाँच वटा प्रतिनिधि सभा क्षेत्र र दश वटा प्रदेश सभा क्षेत्र छन् । आगामी दुई तहको चुनावका लागि तयारी अगाडि बढाइएको भट्टले    बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update