Hamro Patra
बीमाको पहुँच अभिवृद्धि गर्नुपर्छः अर्थमन्त्री शर्मा

धनगढी, असोज ७

अर्थमन्त्री जनार्दन शर्माले सुदूरपश्चिम प्रदेशमा बीमाको पहुँच अभिवृद्धि गर्नुपर्ने बताएका छन् । धनगढीमा आज बीमा समिति सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन गर्दै बीमाका दाबी, भुक्तानीका कुरामा धेरै गुनासा तथा असन्तुष्टि रहेको बताए ।

उनले भने ‘अहिले नेपालभर समग्रमा बिमाको पहुँच ४१.२ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा १९.१७ प्रतिशत मात्रै छ । यसलाई वृद्धि गरिनुपर्छ ।’ उनका अनुसार देशभरि विभिन्न बीमा कम्पनीका तीन हजार तीन सय ६६ शाखा सञ्चालन छन् भने सुदूरपश्चिममा तीन सय २७ मात्रै छन् ।

‘अहिले बीमा संस्थानले दिएको प्रत्यक्ष बीमा सन्दर्भका रोजगारी १२ हजार ३१ को संख्यामा रहेको तर सुदूरपश्चिम प्रदेशमा छ सय ८७ मात्रै रहेको छ’ मन्त्री शर्माले भने ‘यसबाट के देखाउँछ भने सुदूरपश्चिम प्रदेश बिमाको पहुँचबाट अलि टाढाजस्तो छ ।’

अर्थमन्त्री शर्माले लगानीको जोखिम न्यूनीकरण गर्ने मुख्य काम बीमाका रहेको स्पष्ट पार्दै बीमाद्वारा ठूला विपत्तिको जोखिम पनि न्यूनिकरण गर्न सकिने बताए । लगानीकर्तालाई, प्रयोगकर्तालाई र उत्पादनकर्तालाई ढुक्क भएर आफ्नो क्षेत्रमा काम गर्ने वातावरण बनाउने बीमाको मुख्य उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश सरकार आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले विभिन्न जोखिमको व्यवस्थापनमा बीमाले ठूलो सहयोग गरेको बताए । उनले भने ‘सबै क्षेत्रमा यो बिमा जानु पनि जरुरी छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले जोखिम अन्त्य गर्नको लागि बीमालाई व्यापक रुपमा लग्न प्रदेश सरकार तयार रहेको   बताए । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जोखिम न्यूनीकरण गर्ने संयन्त्रको रुपमा बीमालाई लिनुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘यो काम प्रदेश सरकारबाट सुरु गर्नुपर्दछ ।’

प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update