Hamro Patra
दशरथचन्द नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी

बैतडी, असोज ८
बैतडीस्थित दशरथचन्द नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरिएको छ । बढेको तलब नपाएको भन्दै बालविकास सहजकर्ताहरुले शिक्षा शाखामा तालाबन्दी गरेका हुन् ।

बढेको तलब नदिएपछि तालाबन्दी गर्न बाध्य भएको बालविकास सहजकर्ताहरुले बताएका छन् । गएको वर्ष बढेको तलब नपाएकोमा यो वर्ष पनि नगरपालिकाले तलब दिन आनाकानी गरेपछि तालाबन्दी गरेको बालविकास सहजकर्ता मञ्जु भट्टले बताइन् ।

उनीहरुले माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने चेतावनी दिएका छन् । गत वर्ष नै नगरपालिकाले संघीय सरकारले दिएको तलबमा ७ हजार थप गर्ने निर्णय गरेको भए पनि अहिलेको नगरपालिकाले त्यो सुविधा समेत कटौती गरेकोले आन्दोलन गरिएको बालविकास सहजकर्ता भागरथी भण्डारीले बताइन् ।

दशरथचन्द नगरपालिकाभित्र ७१ जना बालविकास सहजकर्ता रहेका छन् । आफूहरुका मागका विषयमा नगर सरकारले सुन्नै नचाहेको बालविकास सहजकर्ताहरुले बताएका छन् । उनीहरुले माग पूरा नभए आइतबारदेखि नगरपालिकामा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।

 

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update