टीकापुर, असोज ८
टीकापुर नगरपालिकाले अघिल्ला वर्षदेखी म्याद थप हुँदै आएका योजनाहरुलाई आगामी मंसिर मसान्त भित्र सम्पन्न गर्न अन्तिम पटक निर्देशन दिएको छ ।
असोज ७ गते बसेको कार्यपालिका बैठकले मंसिर मसान्त भित्र सम्पन्न नगर्ने योजनालाई जरिवाना गर्ने निणर्य गरेको छ । बैठकले यस्ता योजनालाई ठेक्का कबुल अंकमा प्रतिदिन शुन्य दशमलव शुन्य पाँच प्रतिशत रकम जरिवाना गर्ने भएको नगरपालिका प्रवक्ता बलिराम चौधरीले जानकारी दिए ।
नगरपालिकामा दर्जन बढी ठूला योजना विगत वर्षहरुदेखी नै म्याद थप हुँदै आएका छन । ती योजनाको म्याद विभिन्न बहानामा थपिदै आएको थियो । नगरपालिकाले यसरी योजनाको म्याद हरेक वर्ष थप गर्दा कामकाजमा ढिलासुस्ती हुनुका साथै जनगुनासो समेत बढेको जनाएको छ ।
नगरपालिकाले योजना निर्माणमा भैरहेको ढिलासुस्तीलाई मध्यनजर गरेर कार्यपालिका बैठक मार्फत यस्तो निणर्य गरेको हो । जरिवाना गर्ने भएपछि वर्षौदेखी निर्माण सम्पन्न हुन नसकेका योजनाको काम अघि बढ्ने नगरपालिकाले विश्वास गरेको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षका योजनाहरु समेत समयमै सक्ने नीति लिएको छ । उसले चालु आर्थिक वर्षका योजना बैशाख मसान्त भित्रै सम्पन्न गर्ने गरी काम अघि बढाएको छ । असारे विकासलाई रोक्न यस्तो नीति अवलम्वन गरेको नगर उपप्रमुख खडकबहादुर शाहले जानकारी दिए । उनले आर्थिक वर्षको अन्त्यमा विकास योजनाका काम सम्पन्न गर्दा गुणस्तरीय नहुने बताए ।
‘हतारमा काम गर्दा गुणस्तरीय भएन भन्ने जनगुनासोलाई सम्बोधन गरेका हौं’ उनले भने -‘यो वर्ष समयमै काम सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।’
जनप्रतिनिधिहरुले योजना निर्माणका काममा ध्यान नदिने गरेको ब्यापक जनगुनासो सुनिन्छ । उनीहरुले योजना निर्माणका काम भन्दा पनि अन्यत्र ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ । नगरपालिका यस्ता आरोपबाट मुक्त हुन प्रयास गरिरहेको उपप्रमुख शाहले बताए ।



