टीकापुर, असोज ८
कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन् । डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन् । घर फर्केका नागरिक भत्केका घर मर्मत, घरभित्र जम्मा भएको हिलो सरसफाइ र बचेका अन्नपात र लत्ताकपडा सुकाउन थालेका छन् ।
भजनीमा सात हजार ९६ परिवार बाढीका कारण विस्थापित भएका थिए । चार हजार परिवार एक सातापछि घर फर्किएका छन् भने अझै तीन हजार बढी परिवार फर्कने वातावरण बनेको छैन । बाढीपछि पानी सुक्दै जाँदा नागरिक घर फर्कन थालेका हुन् । घर फर्कदा अधिकांश पीडितको रूवाबासी चल्ने गरेको छ ।
भजनीका ध्वजबहादुर विश्वकर्माको परिवार एक साता हुलाकी सडकमा आश्रय लिएपछि शुक्रबार घर फर्किएको छ । शुक्रबार घर फर्केर घर सफाइमा जुटेका विश्वकर्माका परिवारलाई अब कसरी जीवन चलाउने भन्ने पिरले सताएको छ । उनको अन्नपात, लत्ताकपडा सबै नष्ट भएका छन् । विश्वकर्माको परिवार राहत पाए खाउँला भन्ने आशामा छ ।
वडा नं ८ का वडा सदस्य लल्तु डगौरा थारुको परिवारको पनि बाढीले बिचल्ली बनाएको छ । उनी पनि एक साता हुलाकी सडकमा बसेर घर फर्किएका हुन् । सरकारले बर्सेनि पीडा सहने यहाँका नागरिकका समस्या समाधान गर्नुपर्ने र तत्काल पीडितलाई अन्न र त्रिपालको व्यवस्था गरिदिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
‘घर सफाइ गर्नसमेत समस्या छ । अधिकांशका घरमा काम गर्नसक्ने मानिस छैनन्’ वडा सदस्य डगौरा थारुले भने, ‘भत्केका घर मर्मत गर्नुछ, लितपोत गर्नुछ । जसका लागि लाग्ने खर्चको समेत अभाव छ । सरकारले यहाँका नागरिकलाई उच्च स्थानमा घरवास दिनुपर्छ ।’
नेपालीहरु चाडपर्व मनाउने तयारीमा छन् । चाडपर्वको तयारी गरिरहेका बेला आएको बाढीले भजनीका नागरिकलाई ठूलो पीडा दिएको छ । भजनीकै सन्दीप रावलले चाडपर्वका समयमा यहाँका नागरिकलाई राहत उपलब्ध गराउनुपर्ने, शिर लुकाउन त्रिपाल दिनुपर्नेमा जोड दिए ।
‘राहत क्षणिक समयका लागि हो, हामीलाई उच्च स्थानमा बास, नभए उच्च भवन बनाइदिएको भए हुन्थ्यो’ उनले भने ‘बर्सेनि नदी बस्तीमा पस्ने समस्या छ । नदीमा ड्याम तथा तटबन्ध बनाई दिएको भए हुन्थ्यो ।’
भजनी नगरपालिकाले बाढीपछिको क्षतिको विवरण लिन थालेको छ । नगरपालिकाले पीडितहरुको स्थानमै गएर लागत सङ्कलन गर्न थालेको हो । ‘मानिसको घरमा हेर्दा केही बचेको छैन । वडा नं ८ मा अनुगमन गर्दा यहाँ नागरिकको बिचल्ली छ ।
नागरिकको केही सम्पत्ति बचेको छैन’ नगर प्रमुख केवल चौधरीले भने, ‘मानिसका घर बगे, घरमा भएका सबै सामान बगेर नष्ट भए । धान खेती पनि नष्ट भएको छ । हेर्दा बेहाल छ, नागरिकको अवस्था हेर्दा साह्रै मन दुख्छ ।’
‘अझै तीन हजार बढी परिवार घर फर्कने वातावरण बनेको छैन । हामीले राहत वितरणका कार्य गरिरहेका छौँ, हजारौँ पीडित परिवारलाई पालिका मात्रले सहयोग गर्नसक्ने अवस्था छैन’ उनले भने ‘आपत्मा छौँ, सहयोगीलाई अपिल गरेका छौँ, संघ संस्थाले सघाउन थालेका छन् ।’
रासस



