टीकापुर, असोज १०
टीकापुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्य समितिको पदस्थापन तथा दशैं तिहारको शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ ।
सो अवसरमा निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत रघुनाथ उपाध्यायले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका छन ।
संघको नवनिर्वाचित टिममा अध्यक्ष चक्रपाणी सापकोटा, उपाध्यक्ष उद्योगतर्फ सन्तोष खड्का, उपाध्यक्ष वाणिज्यतर्फ कृष्ण बजगाई, महासचिव नवराज रिमाल, सचिव तपेन्द्र कुँवर र कोषाध्यक्ष लोकेश साउँद रहेका छन ।
त्यस्तै सदस्यहरुमा प्रकाश तिमिल्सिना, पृथ्वीराज ढुंगाना, हेमन्त रावल, दुर्गा साहु, बमबहादुर ओली, नमराज देवकोटा, हंशराज रावल र लालबहादुर चौधरी रहेका छन ।
त्यस्तै महिला सदस्यमा टीका शाही, दलित सदस्यमा माया बागदास र जनजाति सदस्यमा जीतबहादुर चौधरीले सपथ लिएका छन ।
कार्यक्रम दुई सत्रमा सञ्चालन भएको थियो । संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतामा पहिलो सत्र सम्पन्न भएको थियो भने दोस्रो सत्रको अध्यक्षता नवनिर्वाचित अध्यक्ष चक्रपाणी सापकोटाले गरेका थिए ।
कार्यक्रममा टीकापुर नगरपालिकाका उपप्रमुख खडक शाह प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै उपप्रमुख शाहले टीकापुरको बृहत्तर विकासका लागि सबैको हातेमालो जरुरी रहेको बताए । उनले सबैको उद्देश्य र लक्ष्य साझा हुनुपर्नेमा जोड दिए ।
‘के राजनीतिकर्मी के ब्यापारी । हामी सबैको उद्देश्य र लक्ष्य एउटै हुनुपर्छ’ उनले भने–‘हामी सबैको साझा प्रयासले मात्रै सम्भव छ ।’
उनले औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन भैरहेको जानकारी दिए । उनले आफ्नै नेतृत्वमा सम्भाव्यता अध्ययन भैरहेको बताउँदै दशैं तिहार लगत्तै तिब्र गतिमा काम अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले टीकापुर पार्कलाई साझेदारी वा निजी क्षेत्रलाई ठेक्कामा दिएर सञ्चालन गर्ने बारेमा नगरपालिकाले नीतिगत निर्णय गरेको बताए । उनले निजी क्षेत्रलाई ठेक्कामा दिएर पार्कको व्यवशायिकरणमा जोड दिईने बताए ।
सोही कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहन विकले समाज परिवर्तनमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले एकता र सहकार्यका माध्यमबाट अघि बढ्न स्थानीय सरकार तयार रहेको बताए ।
सो अवसरमा संघका पूर्वअध्यक्षद्वय नरेशकुमार खत्री र आनन्द हमाल, निवर्तमान अध्यक्ष रामबहादुर भण्डारी, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपट सोडारी, ब्यवशायी तर्क बुढा लगायतले मन्तव्य राखेका थिए ।



