Hamro Patra
सुदूरपश्चिमा बढ्दै डेंगु संक्रमित

टीकापुर, असोज १२

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा डेंगुका बिरामीको संख्या बढिरहेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको तथ्यांकअनुसार नौवटै जिल्लामा अघिल्लो महिनाको अन्तिमसम्म ५५ जनामा मात्रै डेंगुको संक्रमण थियो। अहिले ७ सयभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । सुदूरपश्चिममा शनिबारसम्म २ जनाको मात्रै डेंगुका कारण मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले १ महिनामा १४ गुणाले डेंगुका बिरामी बढनु चिन्ताजनक भएको जनाएको छ। निर्देशनालयले देशभरीका बढी संक्रमित भएका १० जिल्लामा सुदूरपश्चिमको कैलाली पनि पर्ने जनाएको छ। ‘उपत्यकाका ३ जिल्ला, मकवानपुर, दाङ, रुपन्देही, चितवन, धादिङ र गुल्मीपछि कैलालीमा बढी संक्रमित रहेका छन्’, क्षेत्रीय स्वास्थ्य निर्देशक डा.जगदीश जोशीले भने। कैलालीमा मात्रै २९८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ।

डा. जोशीले सर्वसाधारणले सावधानी अपनायो भने डेंगुबाट जोगिन सकिने बताए। ‘अरू केही गर्नै पर्दैन, घर वरिपरि जमेको पानी नष्ट गर्ने वा त्यसमा डिजेल, मट्टीतेल हालेर लामखुट्टेको प्रजनन रोक्ने हो। झुलभित्र सुत्ने हो अथवा लामखुट्टेको टोकाइबाट बच्ने हो भने डेंगु हुदैन’, डा. जोशीले भने।

डेंगुको जानकारी दिने गरी चेतनामुलक सन्देशहरू दिन थालिएको छ। दार्चुलामा २०८ र बझाङमा २२ जनामा डेंगुको संक्रमण देखिएको छ। दार्चुला कैलालीपछि प्रदेशभरीमै दोस्रो बढी संक्रमित भएको जिल्लाको श्रेणीमा छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले सबै जिल्ला स्वास्थ्य कार्यालयहरूलाई ज्वरोको बिरामी आउने बित्तिकै डेंगु परीक्षण गर्न निर्देशन दिएको छ। ‘हामीसँग डेंगुको टेस्ट किटको अभाव छ। सामान्य समयका लागि टेस्ट किटहरू थिए। तर, अचानक फैलियो। त्यसैले सबै जिल्लालाई टेस्टकिट किन्न बजेट र निर्देशन पनि दिइएको छ,’ निर्देशक डा.जोशीले भने।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update