Hamro Patra
मन्दिरमा पसेका दलितमाथि कुटपिट:  वडाध्यक्ष पक्राउ

बाजुरा, असोज १३

सुदूरपश्चिमको पहाडी जिल्ला बाजुराको बुढीगंगा नगरपालिका वडा नं. ५ नवाघरका ५० वर्षीया टेकेन्द्र सुनारमाथि कुटपिट भएको छ ।

सुनारमाथि त्रिवेणी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जुद्ध अयडी, रंग उपाध्याय र बिनोद अयडीले कुटपिट गरेको आरोपमा निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यबहादुर थापाले बताए ।

निवेदनपछि असोज १२ गते बुधबार त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष अयडीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए ।
आरोपित दुई जना रंग उपाध्याय र बिनोद अयडी फरार रहेको डिएपी थापाले बताए ।

त्रिवेणी नगरपालिका वडा नं. ७ मा रहेको नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्ने समयमा दलितले मन्दिर प्रवेश गरेर पूजा गरेको भन्दै कुटपिट गर्नुका साथै डुम भन्दै लागागलौज गरेको निवेदक सुनारले निवेदनमा उल्लेख गरेको प्रहरी प्रमुख डिएसपी सुर्यबहादुर थापाले बताए ।

नाट्यश्वरी मन्दिरमा नवरात्री बस्न गएको समयमा हातपात गर्नुका साथै आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको पीडित सुनारले बताए।
आफूहरू पूजा गरिरहेको स्थलमा आउन मिल्दैन भन्दै डुम शब्द प्रयोग गरी जातीय विभेद गर्दै कुटपिट र लुटपाट गरेको पीडित टेकेन्द्र सुनारले बताए।

त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्ध ऐडी र मन्दिरका पुजारी रंग उपाध्याय र बिनोद अयडीविरुद्ध पीडित सुनारले बडिमालिका प्रहरी चौकी पैमामा जातीय विभेद र लुटपाटसम्बन्धी जाहेरी दिएपछि वडाध्यक्ष अयडीलाइ पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी थापाले बताए।

घाइते सुनारको आँखा कान नाक र पीठ्युमा चोट लागेर शरीर पुरै सुन्निएको छ। घाइते सुनारको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update