टीकापुर, असोज २२
कैलाली क्षेत्र नं. १ निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलहरुसँग आग्रह गरेको छ । कार्यालयले आज टीकापुरमा सबै दलहरुसँग निर्वाचनका बारेमा छलफल गरी यस्तो आग्रह गरेको हो ।
निर्वाचन अधिकृत राजेन्द्र सिँह भण्डारीले निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरित नजान दलहरुलाई आग्रह गरे । उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने दायित्व राजनीतिक दलहरुको पनि भएकाले सबै राजनीतिक दल जिम्मेवार ढंगले प्रस्तुत हुने विश्वास व्यक्त गरेका छन ।
उनले निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरित जाने कुनैपनि दललाई कानून अनुसार कारवाही हुने बताए । उनले त्यस्तो अवस्था आउन नदिन सबै जिम्मेवार हुनुपर्ने बताए ।
छलफलमा उपपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनीहरुले आयोगको आचारसंहिता भित्र रहेर चुनावी गतिविधि गर्ने बताए ।
सोही अवसरमा कार्यालयले निर्वाचनको तालिकाका बारेमा जानकारी दिएको छ । तालिका अनुसार असोज २३ गते १० देखी ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन, २४ गते १० देखी ३ बजेसम्म उम्मेदवार उपर उजुरी दिने उल्लेख छ ।
त्यस्तै २५ गते ५ बजेसम्म उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, २६ गते १० देखी १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने, २६ गते नै ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ७ बजेसम्म चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडले जानकारी दिएकी छन ।
उनका अनुसार निर्वाचन सम्बन्धी सम्पूर्ण कार्य टीकापुरस्थित नापी कार्यालय रहेको भवनबाट हुनेछन । उनले निर्वाचनको तयारी तिब्र गतिमा भैरहेको जानकारी दिईन ।



