Hamro Patra
सुदूरपश्चिमका कथा अझै लेख्न बाँकी नै छन्ः जोशी

टीकापुर, असोज २२

सुदूरपश्चिमको कथा, व्यथा, भाषा, संस्कृतिका बारेमा धेरै विषयहरु लेख्न बाँकी नै रहेको साहित्यकार रामलाल जोशीले बताएका छन् ।

स्व. गगनसिंह थापाद्धारा लिखित अस्ताचलको ढोकाबाट उपान्यासको गृह विमोचन गर्दै मदन पुरस्कार विजेता जोशीले सो कुरा बताएका हुन् ।

‘जुन क्षेत्रमा कथा, व्यथा बढी छन्, त्यहाँका तमाम् कथाहरु अझै लेखिएका छैनन्’ जोशीले भने ‘हाम्रो भाषा र शब्दहरुलाई अझै नेपाली साहित्यले स्वीकार गर्न सकेको छैन, त्यसका लागि पनि यस क्षेत्रका कथाहरु लेख्न जरुरी छ ।’

ऐना कथा संग्रह, सखी उपान्यास र बाआमा जस्ता चर्चित कथा संग्रहका लेखक जोशीले आफूले सुदूरपश्चिमको साहित्यमा आञ्चलिकताको प्रयोग गरिरहेको बताए । ‘स्व. थापाका केही कृति, महेशविक्रम शाहका कृति, लोकेन्द्र बहादुर चन्द लगायतले यहाँको भाषाका बारेमा लेख्नु भएको छ’ उनले भने ‘मैले समेत हाम्रै परिवेशका कथाहरु लेखिरहेको छु ।’ अस्ताचलको ढोकाबाट कृति परमात्माको वणर्न गरिएको सम्भवतः नेपाली साहित्यको पहिलो कृति भएको जोशीले बताए ।

उपान्यासमाथि समिक्षा गर्दै टीकापुर बहुमुखी क्याम्पसका सहप्रध्यापक डा. धनकृष्ण उपाध्यायले उपान्यासले विश्वका सबै दर्शन, सबै विचारक तथा शास्त्रहरुको चर्चा गरिएको बताए ।

१३ वटा परिच्छेदमा रहेको उपान्यासमा हिन्दु संस्कार अनुसार गरिने १३ दिने क्रियाकर्मको वणर्न गरिएको छ । उपान्यासमा लेखकले उपन्यासमार्फत् आफ्नो मृत्युपश्चात्को कल्पना गरेका छन् ।

स्व. थापाका सोह्र सौगात कथासंग्रह, कणर्ालीको छेउछाउ, पुर्खाको चिठ्ठी, मेरो मधुशाला, महाप्रलय उपान्यासहरु प्रकाशित छन् ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update